इटहरीः उद्योग वाणिज्य सङ्घ झुम्काले सिँचाइ परियोजनाको जग्गा भाडामा लगाउँदै आएको छ । रामधुनी नगरपालिकास्थित झुम्का बजारमा रहेको सिँचाइ परियोजनाको क्षेत्रभित्र पर्ने जग्गामा सटर बनाएर भाडामा लगाउने गरेको हो ।

उद्योग वाणिज्य सङ्घ झुम्काका अध्यक्ष धर्मेन्द्र साहका अनुसार १२ वर्ष अघिदेखि नै सोही स्थानमा सटर बनाउँदै आएको हो । तर बीचमा सिँचाइ परियोजनाले सटर भत्काएपछि पुन सटर निर्माण गरिएको उनको भनाइ छ ।

सोही स्थानमा मन्दिर निर्माण गरिएको छ भने मन्दिरको वरीपरी सटर निर्माण गरिएको छ । सटरबाट मासिक रूपमा ४० हजार सङ्कलन हुने गरेको छ । उक्त रकम उद्योग वाणिज्य सङ्घको कार्यालय व्यवस्थापनमा खर्च हुने गरेको अध्यक्षको भनाइ छ । १४ वटा सटरको २ हजारदेखि ३ हजार ५ सयसम्म भाडा लिने गरिएको बताइएको छ ।

आन्तरिक आम्दानी वृद्धि गर्ने र कार्यालय व्यवस्थापन गर्ने भन्दै सङ्घले सटर भाडामा लगाउँदै आएको छ । जसबाट स्वयम् व्यापारी व्यवसायीलाई भने केही पनि फाइदा पुग्न सकेको छैन ।
झुम्काको सबैभन्दा व्यस्त सडकभित्र पर्ने झुम्का–चतरा लाइनको सडकको बीचमै बजार बसाइएकाले यात्रु समस्यामा पर्ने गरेका छन् । नियमित यात्रा गर्ने यात्रुहरू बाटो साँगुरो भएको कारण समस्या भएको बताउँछन् ।

चतरा घर भई इटहरीमा नोकरी गर्ने एञ्जिल अधिकारीका अनुसार बाटो साँगुरो भएको तथा चिप्लिने र लडिने सम्भावना हुने गरेको छ । बाटैमा सामान राखेर व्यापार गर्ने गरेको कारण यात्रामा समस्या भइरहेको उनी बताउँछन् । सङ्घले पनि सटरबाट भाडा मात्र लिएको तर सडक मर्मत नगरेको उनको भनाइ छ ।

उता, सङ्घका अध्यक्ष साह भने सडक मर्मत आफ्नो क्षेत्राधिकार नभएको बताउँछन् । सङ्घको कार्यालय बनाउन र कार्यालय व्यवस्थापनको लागिमात्र सटर बनाएर भाडामा लगाइएको उनको भनाइ छ ।