तेह्रथुमः तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम मलेसिया सम्पर्क मञ्चले ४ लाख रुपैयाँ सहयोग गरेको छ ।
दुबइमा जेल परेका खड्गलाई स्वदेश पर्काउन मञ्चले मलेसियामा सङ्कलन गरेकोे सो रकम परिवारलाई हस्तान्तरण गरेको छ । मञ्चले फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बामार्फत परिवारलाई सहयोग रकम उपलब्ध गराएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उद्धव तिम्सिना, तीनजुरे सामुदायिक अध्ययन केन्द्र म्याङलुङका अध्यक्ष विपीन सुब्बालगायत उपस्थित थिए ।
वडाध्यक्ष मादेम्बाको अगुवाइमा सङ्कलन भएको ६४ हजार १ सय रुपैयाँ पनि परिवारलाई हस्तान्तरण गरिएको छ । ५ वर्ष अघि दुबइ गएका खड्गसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्या आरोपमा उनी ४ वर्षदेखि जेल सजाय भोगिरहेका छन् । खड्गलाई अदालतले ५ वर्ष कैद र २ लाख दिराम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।
जोगीलाई नेपाल फर्काउन २ लाख दिराम अर्थात् नेपाली ६२ लाख रुपैयाँ जुटाउन देश विदेशमा अभियान चलेको हो । आवश्यक रकम जम्मा भइसकेको खड्गबहादुर जोगी बचाऔं अभियानका अध्यक्ष दुर्गा गिरीले बताए ।