इटहरीः कांग्रेस–एमालेबीच गठबन्धन भएको एक महिना पुग्दा पनि कोशी र गण्डकी प्रदेश सरकार अधुरै रहेका छन् । गठबन्धनमा मन्त्रालय भागबन्डा र कांग्रेस–एमालेभित्रै मन्त्रीको नाम टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको हो । जसकारण कोशीमा कांग्रेस र गण्डकीमा एमाले सरकारबाहिरै छन् ।
१७ असारमा कांग्रेस–एमाले गठबन्धन बनेपछि एमाले अध्यक्ष केपी ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । गठबन्धन फेरिएसँगै पाँच प्रदेशमा सरकारले पूर्णता पाइसकेको छ ।
सत्तासाझेदार माओवादी ११ साउनमा कोशी सरकारबाट बाहिरिसकेको छ । तर, कांग्रेसले अझै मन्त्रीको टुंगो लगाउन नसक्दा पाँच मन्त्रालय मुख्यमन्त्री हिक्मतकुमार कार्की आफैँले चलाइरहेका छन् । स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार विकास, उद्योग र पर्यटन मन्त्रालय मन्त्रीविहीन छन् ।
एमाले संसदीय दलका उपनेता रेवतीरमण भण्डारीले कांग्रेसले मन्त्रीको नाम नदिँदा सरकार पुनर्गठनमा ढिलाइ भएको बताए । ‘कांग्रेसले आन्तरिक कारणले ढिलाइ गरेको होला, मन्त्रीको नाम प्राप्त हुनासाथ मुख्यमन्त्रीले सरकार पुनर्गठन गर्नुहुन्छ,’ उनले भने ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले केन्द्रीय समितिको बैठकपछि कोशीका लागि पनि मन्त्रीको नाम टुंगो लाग्ने बताए । ‘मन्त्रालयमा सहमति भइसकेको छ । मन्त्रीबारे छलफल पनि भइसकेको छ, नाम टुंगो लगाउन समय लाग्दैन,’ उनले भने, ‘केन्द्रीय समिति बैठक सकिएपछि पार्टी नेतृत्वले निर्णय लिन्छ । अझै एक–दुई दिन लाग्छ होला ।’
कांग्रेसबाट संस्थापन पक्षका हिमाल कार्की, खगेन्द्रसिंह हाङगाम, प्रदीप सुनुवार, अमृत अर्याल तथा संस्थापनइतर ९कोइराला० समूहबाट मानबहादुर लिम्बू, रामकुमार खत्री र गोविन्द गिरी मन्त्रीका लागि दौडधुपमा छन् । त्यस्तै, सिटौला समूहबाट अमृत भूपेन्द्र राई, भीम पराजुली र गोपाल तामाङको नाम चर्चामा छ ।
मन्त्रीद्वय मनाङे र देवकोटाबारे कांग्रेस–एमाले मतभेदले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
गण्डकीमा मन्त्रीद्वय दीपक मनाङे र फणीन्द्र देवकोटाबारे कांग्रेस–एमालेबीच मतभेद भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डे आफ्नो कुर्सी जोगाएका स्वतन्त्र सांसद मनाङे र नेपाल समाजवादी पार्टीका देवकोटालाई निरन्तरता दिने पक्षमा रहे पनि एमाले असहमत छ ।
त्यति मात्र होइन, मुख्यमन्त्री पाण्डे त राप्रपालाई पनि साथ लिएर जाने पक्षमा छन् । कथंकदाचित एमालेसँगको गठबन्धन टुटेमा राप्रपा, देवकोटा र मनाङेको साथविना आफ्नो सरकार नजोगिने भएकाले मुख्यमन्त्री पाण्डेले अडान राखेका हुन् ।
कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमाले–माओवादी एक ठाउँ छँदाको राजनीतिक कोर्समा कांग्रेसलाई साथ दिएकालाई अहिले छाड्न नसकिने बताए । ‘हाम्रो स्थानमा एमाले भएको भए पनि छाड्ने थिएन होला,’ उनले भने, ‘सरकार विस्तारको काम एमालेका कारण ढिलाइ भएको हो । सरकारमा आउनुस् । मन्त्रीको नाम दिनुस् भनेर मुख्यमन्त्रीले पटक–पटक भन्नुभएको छ ।’
एमाले संसदीय दलका उपनेता लिलबहादुर थापामगरले भने कांग्रेसका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताए । ‘कांग्रेसलाई यसअघिको लगनगाँठो छाड्न गाह्रोे परेको छ । गठबन्धन परिवर्तन भइसक्दा पनि मुख्यमन्त्री पुरानै मानसिकतामा अघि बढेका कारण समस्या आएको हो,’ उनले भने, ‘मलाई आवश्यक बहुमत पुगेकै छ, एमाले किन चाहियो र भन्ने पनि मुख्यमन्त्रीलाई परेको हुन सक्छ ।’ कांग्रेस–एमालेको केन्द्रबाट पनि ठोस निर्णय र निर्देशन नभएकाले समस्या भएको उनले बताए ।
गण्डकीमा हाल मन्त्रालयको संख्या सात छ । तर, मन्त्रालयको संख्या बढाउने विषयमा पनि कांग्रेस–एमालेबीच छलफल भइरहेको छ । कांग्रेस कार्यक्षेत्र नमिलेका मन्त्रालय फरक बनाउनुपर्ने पक्षमा छ । हाल सामाजिक विकास तथा स्वास्थ्यबाट स्वास्थ्य, मुख्यमन्त्री कार्यालयअन्तर्गत रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, भौतिक पूर्वाधार विकास तथा यातायातबाट यातायातलाई छुट्याएर अर्को मन्त्रालय बनाउनुपर्ने विषयमा दुई दलका नेताहरूबीच छलफल भइरहेको छ । एमाले संसदीय दलका उपनेता थापाले पनि मन्त्रालयको संख्या थपघटको विषयमा समेत छलफल भइरहेको पुष्टि गरे । तर, यसबारे थप बताउन चाहेनन् ।
शर्मा र पुनका अर्थपूर्ण अभिव्यक्ति
केन्द्रीय गठबन्धनलाई लिएर कांग्रेस र माओवादी नेताहरूका अर्थपूर्ण अभिव्यक्ति आएका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकार सञ्चालनमा कांग्रेस र एमालेबीचका विमति रोक्न खोजे दुर्घटना हुने बताएका छन् । गठबन्धनमा अप्ठ्यारो पर्ने नाममा कांग्रेसले विमति दबाएर नराख्ने उनको दाबी छ ।
यस्तै, माओवादी उपहासचिव वर्षमान पुन अनन्तले वर्तमान कांग्रेस–एमाले गठबन्धनबीच खटपट सुरु भएको र सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन् । पुनले माओवादीले चाहे सरकार ढाल्न सक्ने, तर यसमा आफ्नो पार्टीले हतार नगर्ने सुनाए । महामन्त्री शर्मा शनिबार नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा र उपमहासचिव पुन पार्टीसम्बद्ध काठमाडौं–रोशी गाउँपालिका ९काभ्रे० सम्पर्क समितिको पालिका भेलामा बोल्दै थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।