पाँचथरः पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।

शिक्षा मन्त्रालयका उपसचिव विष्णु मिश्रसहितको टोलीले पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यताको खोजी गरेको हो । सम्भाव्यताबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय पाँचथरको समन्वयमा फिदिममा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आन्दोलनरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिबमोजिम पाँचथरको फिदिममा मेडिकल कलेज स्थापना गर्न उपयुक्त हुने निष्कर्ष निकालेको बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटीका सदस्य हर्कबहादुर नेम्वाङले जानकारी दिए ।

बैठकपछि मेडिकल कलेज स्थापनाका लागि जिल्ला अस्पताल तथा फिदिम नगरपालिका वडा नं २ र ३ मा स्थलगत अवलोकन समेत गरिएको छ । सरकारले गत साउनमा पाँचथर–इलाम, डडेलधुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन एक महिनाभित्र शुरु गरिसक्ने भनी केसीसँग सहमति गरेको थियो ।

सोही सहमतिअनुसार मन्त्रालयको टोलीले सम्भाव्यता अध्ययन गरेको हो । पाँचथरसहित पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम र इलामको केही भू–भागका गरी झण्डै छ लाख स्थानीयवासीले सेवा लिन सक्ने क्षेत्र भएकाले फिदिममा मेडिकल कलेज स्थापना गर्नु उपयुक्त हुने निष्कर्ष बैठकले निकालेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जनाए ।

मेडिकल कलेजका लागि आवश्यक भौतिक पूर्वाधार र जग्गाको व्यवस्था गर्न समेत जिल्ला सक्षम रहेकाले यसका लागि प्रक्रिया अघि बढाउन समेत सहभागीले माग गरेका थिए । सडकको पहुँचका हिसाबले अन्य जिल्ला तथा जिल्ला भित्रबाटै समेत फिदिम सहज रहेको बैठकले निष्कर्ष निकालेको जनाइएको छ ।