इटहरीः ‘आरुसी’ चलचित्रबाट मोडल इसक राईले फिल्म दुनियाँमा डेब्यु गर्दैछन् । ०७६ सालको बैंशाखमा प्रदर्शन मिति राखिएको चलचित्र आरुसीको एउटा गीतको बाहेक सबै छायाङ्कनको काम सकिएको छ । १ करोडको लागतमा निर्माण हुने यस चलचित्रमा झापाली ठिटो राई अडिसनबाट छनोटमा परेका हुन् ।

चलचित्रमा मुख्य भूमिकामा छनोट हुनु अघि उनी काठमाडौंमा रहेर मोडलिङ दुनियाँमा रमाइँरहेका थिए । आधा दर्जन गीतमा अभिनय गरिसकेका राई १ सय ३० युवालाई अडिसनमा उछिनेर ‘आरुसी’को नायकका लागि छनोट भएका हुन् । उदय सुब्बाले निर्देशन गरेको सो चलचित्रको एउटा गीतको छायाङ्कनका लागि नायक राई आइतबार अष्टे«लिया जाँदैछन् ।

अष्ट्रेलियाका रमणीय स्थानमा चलचित्रको एउटा गीतमा उनीसँग रमा लिम्बूले अनस्क्रिन रोमान्स गर्दैछिन् । गीत छायाङ्कनको युनिट कलाकारसहित त्यसतर्फ जान लागेको हो । ताराप्रकाश लिम्बू र विकास चौधरीको सङ्गीत रहेको गीतमा दीपक लिम्बू, ताराप्रकाश र सुम्निमा इङनामको स्वर रहेको छ । चकलेटी कोरियन फेसका राईको चलचित्र ‘आरुसी’को छायाङ्कनसँगै नेपाली फिल्मी बजारमा चर्चा चुलिएको छ ।

isak rai  (1)

‘काठमाडौं बसेर मोडलिङमा सङ्घर्ष गरिहेको झापाली ठिटो चलचित्रका लागि नायकका रूपमा छनोट भएर छायाङ्कनका लागि अष्ट्रेलियासम्मको यात्रा तय गर्छु भन्ने सोचेको पनि थिइनँ’, नवनायक राई भन्छन्, तर, निरन्तरको मिहिनेतले म योग्य ठहरिएँछु । यसमा मलाई गर्व छ ।’ आरुसीमा अभिनय गर्दा गर्दै अन्य २ वटा चलचित्रबाट पनि नायकको भूमिकाको लागि अफर आइसकेको उनी सुनाउँछन् ।

चलचित्रमा इसकसँगै रमा लिम्बू, सुनिल थापा, शुरवीर पण्डित, दमन रुपाखेतीलगायतका कलाकारको अभिनय रहेको छ । यस फिल्मका लागि निर्देशक सुब्बाले नै गीत लेखेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा सहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानी रहेको छ भने नृत्य निर्देशक दिनेश पाख्रिन र कमल राई रहेका छन् ।

rama limbu  (1)