इटहरीः तीन वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा बल्ल सञ्चालनमा आउने भएको छ । योसँगै आगामी महिनादेखि धरहरा चढेर काठमाडौं नियाल्ने सर्वसाधारणको चहानापूरा हुने भएको छ । 

सहरी विकास मन्त्रालयले ३ असोजदेखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्न लागेको हो । मन्त्रालयको निर्णयसँगै धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनले पनि बाँकी काम सक्न तीव्रता दिएको छ । रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर दीपक सिंहका अनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम भइरहेको छ । ‘पछिल्लो समय थपिएको मितिअनुसार हामीसँग केही समय अझै बाँकी छ । धरहरा सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम गरिरहेका छौँ,’ सिंहले भने, ‘सुन्धाराबाहेकका काम गर्नुपर्ने हो । ती काम ३ असोजभित्र सक्छौँ ।’ उनका अनुसार बिजुली बत्तीको कामबाहेक अन्य काम सकिसकेको छ । निर्माण कम्पनीलाई थपिएको समय ६ अक्टोबर (२० असोज)मा सकिँदैछ ।

धरहरा सञ्चालनमा प्रधानमन्त्री ओलीले नै चासो दिएपछि पछिल्लोपटक थपिएको मितिभन्दा अगाडि नै निर्माण कम्पनीले काम सक्न लागेको जनाएको छ । उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेपछि प्रधानमन्त्री ओलीले १४ साउनमा मन्त्री तथा सचिवहरूलाई धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । 

सुन्धारा अझै अलपत्र 

धरहरा सञ्चालनमा आउने भएपनि धरहरा परिसरमै रहेको सुन्धारा पुनर्निर्माण भने सुरु नै भएको छैन । निर्माण कम्पनीले सुन्धारा र भूकम्पका कारण ढलेको धरहराबाहेकको क्षेत्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने जनाएको छ । सम्बन्धित निकायको बेवास्ताका कारण सुन्धारा खण्डहर बनिरहेको छ भने पुरानो धरहरालाई जस्तापाताले ढाकेर राखिएको छ ।

72eae748-d15c-4b0c-be4a-0c4876925ac1

सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग भने सुन्धारामा प्राकृतिक रूपमै पानी ल्याउने गरी काम गर्ने जनाएको छ । विभागका उपमहानिर्देशक कोषनाथ अधिकारीकाअनुसार धरहरा सञ्चालनमा आउनुभन्दा अघि विभागबाट पार्किङ, बगैँचालगायतमुख्य काम हुनेछन् । त्यसपछि बल्ल सुन्धारा पुनर्निर्माण हुनेछ । ‘स्थानीयवासी र पुरातत्व विभागले पटक–पटक हस्तक्षेप गरेपछि सुन्धारा पुनर्निर्माण ढिलो भइरहेको हो । म आफैँ पनि सुन्धारा बनाउने प्रस्ताव लिएर पुरातत्व विभाग गएको थिएँ, तर अहिलेसम्म स्वीकृति पाइएको छैन। सुन्धारा पुनर्निर्माणमा इच्छा त देखाएका छन्, तर अहिलेसम्म काम सुरु गरेका छैनन्,’ अधिकारीले भने, ‘विभाग आफैँले पनि सुन्धारा बनाउन इच्छा देखाएको छ ।’

सुन्धाराको पुरानो संरचनाभत्काएर पुनर्निर्माण गर्न लागेपछि दुई वर्षअघि स्थानीयवासी आन्दोलित भएका थिए । स्थानीयलाई काठमाडौं महानगर र पुरातत्व विभागले समर्थन गरेको थियो । निर्माण कम्पनीले सुन्धारा रहेको ठाउँभन्दा पछाडि ठूलो खाडल बनाएर एक लाख लिटर पानी अट्ने ट्यांकी निर्माण गरेर सोही ट्यांकीको पानी सुन्धारामा खसाल्ने योजना बनाएको थियो । तर, चौतर्फी विरोध भएपछि उक्त काम रोकिएको थियो । 

धरहरा सञ्चालनको मोडालिटीबारे छलफल हुँदै 

१३ दिनपछिबाट धरहरा सञ्चालनमा ल्याउने भनिए पनि यसको सञ्चालन मोडालिटी भने अझै तयार भएको छैन ।धरहरा कसरी, कसले र कुन रूपबाट सञ्चालन हुन्छभन्नेबारे मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने उपमहानिर्देशक अधिकारी बताउँछन् । ‘धरहरा सञ्चालनको मोडालिटीबारे केही छलफल भएको सुनेको छु । तर,थप जानकारी छैन,’ अधिकारीले भने ।

११ वैशाख ०७८ मै प्रधानमन्त्री ओलीले धरहरा निर्माण सम्पन्न भएको दाबी गर्दै उद्घाटन गरेका थिए । उद्घाटन गरेको तीन वर्ष बितिसक्दा पनि सर्वसाधारणले धरहरामा प्रवेश पाउन सकेका छैनन् । ऐतिहासिक सम्पदा भए पनि धरहरा पुनर्निर्माण बहुउपयोगी आधुनिक भवनका रूपमा भएको छ । यस भवनको तीन तलासम्म सवारी पार्किङस्थल छ । जसमध्ये पहिलो एक तला सर्वसाधारणका लागि पार्किङ गर्न खुला गरिएको छ । आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।