झापाः झापालाई आगामी माघ १ गतेदेखि मदिराको व्यवस्थित कारोवार गर्ने तथा अवैध मदिरा नियन्त्रित गर्ने जिल्लाको रूपमा घोषणा गरिने भएको छ ।
आन्तरिक राजस्व कार्यालय चन्द्रगढीले बिहीबार पत्रकार सम्मेलन गरी मदिराकै कारण आपराधिक र घरेलु हिंसाका घटना बढेका कारण सो नियन्त्रणका लागि मदिरा नियन्त्रित जिल्ला घोषणा गरेर अभियान सञ्चालन गरिने जनाएको हो ।
अपराध नियन्त्रणका लागि असोज ७ गते नै झापाका १५ वटै स्थानीय तह, होटल व्यवसायी सङ्घ, वाणिज्य सङ्घ, जिल्ला प्रहरी कार्यालय र विभिन्न सङ्घसंस्थाले १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका थिए ।
माघ १ गतेदेखि १५ गतेसम्म स्थानीय तहका विभिन्न वडामा सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम गरिने, बहुसङ्ख्यक महिलालाई राखेर समिति गठन गरी अभियानलाई सफल बनाउन लागि पर्ने आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यले बताए ।
अस्पताल, शैक्षिक संस्था तथा सार्वजनिक महत्वका स्थानको निश्चित दूरी (सय मिटर) भित्र मदिरा बिक्री वितरण गर्न रोक लगाउने कानुनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउने आचार्यको भनाइ छ ।