खोटाङः  यहाँका ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश नागरिकको भान्छामा गुन्द्रुक, किनीमा र सिस्नो तथा कोदोको ढिँडो र मकैको च्याख्ला अवश्य पाक्छ । अचेल त सहर बजारमा बसोबास गर्ने मानिसले पनि यी वस्तुको खोजी गर्न थालेका छन् ।  

ग्रामीण भेगमा उत्पादन गरेका अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग्री सहर बजारमा खोजी हुन थालेसँगै व्यवसायीकरण गर्ने अभियान पनि सुरु भइरहेका छन् । महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले पहिले गरिबको भान्छामा पाक्ने खाद्यवस्तु अचेल धनि परिवारको समेत रोजाइमा पर्न थालेपछि यस्ता अभियान भइरहेका बताइन। “पहिलेपहिले गुन्द्रुक, किनी र सिस्नो तथा कोदोको ढिँडो र मकैको ठेप्ला गरिबको भान्छामा पाक्ने खानेकुरा भनेर चिनिन्थ्यो । अहिले यसको महत्व र फाइदाका बारेमा धेरैलाई जानकारी भएको छ”, उनले भनिन्, “स्थानीयस्तरमा उत्पादन हुने अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग्री उत्पादकलाई व्यावसायिक बनाउँदै बजारीकरण गर्ने अभियानमा हामी लागेका छौँ ।” त्यसका लागि दिक्तेल बजारमा ‘खोटाङ उद्यमी कोसेली घर’ नामको बिक्री केन्द्र स्थापना गरेर सेवा दिन थालिएको उनले जानकारी दिइन । अध्यक्ष राईले स्थापनाकालमा रु सात हजारदेखि सुरु गरिएको कोसेली घरको लगानी अहिले रु २० लाख बढीको भएको बताइन। 

विसं २०८० साउनमा दर्ता गरेर असोजमा दिक्तेलस्थित रत्नपार्कमा स्थापना गरिएको कोसेली घरमा गुन्द्रुक, किनिमा, सिस्नोको धुलो, कोदो तथा फापरको पिठो, मकैको च्याख्ला, कहत, कालो दाल, सिमीलगायत खाद्यवस्तु बिक्रीका लागि राखिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा स्थापना गरिएको कोसेलीघरमा राँगाको सुकुटी, अचार तथा अचारजन्य वस्तु, भिरमौरी तथा घर मौरीको मह, गाई, भैँसी तथा भेडाको घ्यू, कोलमा पेलेको तोरीको तेल, अकबरे खुर्सानीको अचार, घरेलु जाँड तथा रक्सी उत्पादनमा प्रयोग हुने मर्चा, जडीबुटीजन्य वस्तुका साथै हस्तकलाका घरेलु सामग्री बिक्रीका लागि राखिएको जनाइएको छ । 

नगरपालिकाले निर्माण गरेको सपिङ कम्प्लेक्सको दुई वटा सटरमा सञ्चालित कोसेलीघरमा बाँसको चोयाबाट निर्माण गरिने घरेलु सामग्री डालो, नाङ्लो, थुन्से, फिपी, कोक्रो तथा हस्तकलाका सामग्री कठुवा, ठेकी, काठको चिन्डोलगायत सामग्री बिक्रीका लागि राखिएका छन् । यस्तै ढाकाको टोपी, कपासको धागोबाट बुनिएको दौरासुरुवालको कपडा, भेँडाको ऊनबाट बुनिएको लुकुनी, घुमराडी, चकटीलगायत राखिएका छन् । 

खाद्यपदार्थ र हस्तकलाका सामग्रीसँगै विभिन्न जातजातिको संस्कार तथा संस्कृतिसँग सम्बन्धित ऐतिहासिक सामग्री बिक्रीका लागि राखिएको अध्यक्ष राईले जानकारी दिइन । हिन्दू परम्पराअनुसार कन्या मगनी गर्न जाँदा प्रयोग गरिने ठेकी, आदिवासी जनजाति समुदायको संस्कारअनुसारको कठुवा, विभिन्न जातजातिको वेषभूषा तथा बाजागाजालगायत सामग्री बिक्रीका लागि राखिएका छन् । 

यहाँ राखिएका खाद्यपदार्थ तथा हस्तकलाका सामग्री स्वदेशमा भन्दा बढी विदेशमा निर्यात हुने गरेको अध्यक्ष राईले जानकारी दिइन । “जिल्ला भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकले यहाँको चिनोका रूपमा हस्तकलाका सामग्री खरिद गर्छन् । खोटाङमा जन्मिएर विभिन्न देशमा पुगेकाले घर आएको समयमा खानेकुरा कोसेलीका रूपमा लिने गरेका छन्”, उनले भनिन, “हस्तकलाका सामग्री सबैभन्दा बढी क्रमशः युके (बेलायत), हङ्कङ, सिङ्गापुरलगायत देशमा निर्यात हुने गरेको छ । कोसेली घर स्थापना गरेको वर्ष दिन नपुग्दै ग्राहकको माग बढ्दै गएपछि दुई जना कर्मचारीलाई मासिक तलब दिएर सेवा दिइरहेका छौँ ।”

महिला उद्यमीले उत्पादन गरेका अचारलगायत खाद्यवस्तु बजारीकरणका लागि विभिन्न ठाउँमा आयोजित कृषि प्रदर्शनीमा राख्ने गरिएको छ । खोटाङ महिला उद्यमी कोसेली घरको प्रतिनिधित्व गरेर प्रदर्शनीमा राखिएका अकबरे खुर्साको अचारले धेरै पटक पुरस्कारसमेत हात पारिसकेको छ । 

कोसेली घरमा बिक्रीका लागि राखिने अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग्री जिल्लाका विभिन्न ठाउँबाट सङ्कलन गर्ने गरिएको जनाइएको छ । डालो, नाङ्लो, फिपी नुनथला, रुभुङ, खाल्ले, काठको चिन्डो लफ्याङ, कोक्रो र थुन्से खार्मी, बाक्सिला, भिरमौरी मह सुङ्देल, मर्चा नुनथला र रुभुङ, राडीपाखी नेर्पा, सिस्नोको धुलो दिक्तेललगायत ठाउँबाट सङ्कलन गर्ने गरिएको जनाइएको छ । 

स्थानीय उत्पादनलाई थप प्रवर्द्धन गर्दै व्यावसायीकरण गर्न काठमाडौँस्थित पके कलेक्सनसँग सहकार्य गरिएको अध्यक्ष राईले जानकारी दिइन । कोसेली घरमा सङ्कलन भएका अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग्री पके कलेक्सनले खरिद गरेर बिक्री गर्दै आएको उनले बताइन।  

कोसेली घर सञ्चालनका लागि नगरपालिकाले महिला उद्यमीलाई निःशुल्क तालिम तथा औजार उपलब्ध गराएको नगर उपप्रमुख विशन राईले जानकारी दिइन । “स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न नगरपालिका आफैँ पनि लागिपरेको छ । महिला उद्यमीले पनि व्यावसायिक बन्ने उद्देश्यसहित अभियान थालेका छन् । नगरपालिकाको तर्फबाट गर्नुपर्ने सबै प्रकारका सहयोग उपलब्ध गराउँछौँ । यसमा सबैको सहकार्य आवश्यक छ”, उनले भनिन्। 

कोसेली घरले उचित मूल्यमा स्थानीय उत्पादन खरिद गर्न थालेपछि कृषक तथा उद्यमी लाभान्वित भएका छन् । यहाँ उपलब्ध खाद्यवस्तु तथा सामग्री सुपथ मूल्यमा पाउने गरिएकाले उपभोक्तालाई समेत सहज भएको छ । रासस