धनकुटाः प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले सञ्चार माध्यम नकारात्मक सोचबाट ग्रसित भएको बताएका छन् ।प्रेस काउन्सिल नेपालले आयोजना गरेको श्रमजीवी पत्रकारको अवस्था र पत्रकार आचारसंहिता विषयक प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्न धनकुटा पुगेका राईले यस्तो बताएका हुन् । नेपाली समाज नै नकरात्मक सोचबाट अघि बढिरहेकाले सञ्चार माध्यममा समेत त्यसको असर परेको उनले बताए ।

सञ्चार माध्यमले नकरात्मक विषयलाई महत्व दिने गरेको तर सकरात्मक विषयलाई महत्व नदिने गरेको उनको जिकिर थियो । उनले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सकारात्क सोचको विकास गर्न आग्रह समेत गरे ।

यस्तै, प्रदेश सरकार श्रमजीवी पत्रकारमैत्री हुने उनले दाबी गरे । श्रमजीवी सञ्चारमाध्यमलाई सम्बोधन गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने उनको भनाइ थियो ।
सञ्चारमाध्यम तथा सञ्चारकर्मीले प्रेस काउन्सिलले बनाएका कानुनलाई पालना गर्न जोड दिँदै उनले पत्रकारलाई जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे ।