इलामः चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनसनको समर्थन र विरोध भइरहेको छ ।

यसैबीच अनसनको समर्थन र विरोध पनि अनसनमार्फत् नै हुने भएको छ । केसीको अनसनको समर्थनमा पत्रकार महासङ्घ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुङ्गानाले डा. केसीकै अनसन स्थलमा ७२ घण्टे भोक हड्ताल थाल्ने भएका छन् । उनले भोक हड्ताल कहिले शुरु गर्ने भन्ने चाहिँ बताएका छैनन् ।

केसीको अनसनको विरोधमा इलाममै अनसन हुने
यता, इलाममै डा. केसीको अनसनको विरोधमा काठमाडौंबाट आएका विजय थापाले भने अर्को अनसन थाल्ने भएका छन् । उनले पनि अनसन मिति खुलाएका छैनन् । 

डा. केसीको स्वास्थ्यमा समस्या
सत्याग्रह थालेका डा. केसीको रक्तचाप कम हुँदै गएको र छातीमा समस्या देखिन थालेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालका चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरेका छन् । डा. केसीले सुगरको परीक्षण गर्न मानेका छैनन् । बुधबारदेखि इलामको फूलगाछीस्थित शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो घरमा केसीले आफ्ना समर्थकको उपस्थितिमा सत्याग्रह शुरु गरेका थिए ।