धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफै माथि खुकुरी प्रहार गरी आन्द्रा बाहिर निस्केको एक जना बिरामीको ज्यान बचाएको छ ।

बीस वर्ष देखि नियमित रुपमा रक्सी सेवन गर्ने धनकुटाको महालक्ष्मी नगरपालिकाका ३० बर्षीय युवकले गत भदौं २९ गते राती करिब १० बजेको समयमा  पारिवारिक हिंसा पश्चात आत्माहत्या गर्ने उदेश्यले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । 

घटना बारे छिमेकीले थाहा पाई सुरक्षाकर्मीको रोहवरमा गम्भिर अवस्थामा उनलाई एम्बुलेन्सबाट प्राथामिक उपचारका लागि नजिकको धनकुटा जिल्ला अस्पतालमा लगियो थियो । सो अस्पतालले अवस्था गम्भिर भएको जनाउँदै थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  रेफर गरेको थियो । 

उनलाई भदौ ३० गते बिहान ८ बजे  प्रतिष्ठानको इमर्जेन्सी कक्षमा आन्द्रा बाहिर निक्लिएको एवम् आन्द्रा कुहिएको अवस्थामा ल्याइएको थियो  । युवकको आफन्त कोही उपस्थित नरहेकोले प्रहरीसँग समन्वय गरी प्रतिष्ठानको जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभाग, जेनेरल सर्जरी विभाग तथा एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर विभागको टिमले बिरामीको उपचार शुरु गरेको थियो। 

Photo2

बिरामीको रगत निकै बगिसकेकोले निजको अवस्था एकदमै नाजुक रहेको थियो । तर बिरामीको अभिभावक कोही पनि नभएकाले प्राथामिक उपचारका साथै अप्रेशनका लागि अति आवश्यक पर्ने जाँच परिक्षण, रगतको व्यवस्था, औषधी एवम्अप्रेशनमा चाहिने सामाग्रीको व्यवस्था गर्न कठिनाई भएकोले अस्पताल प्रशासनसँग समन्वय गरि ३१ भदौंमा सफल अप्रेशन गरिएको प्रतिष्ठानका सह प्रवक्ता  डा. अभिजीत कुमारले जानकारी दिएका छन् । 

अप्रेशनको क्रममा पेटमा जमेको रगत निकाली कुहिएको आन्द्रा काटी बाँकी आन्द्रा जोडियो उनले बताए । अप्रेशनमा करिब ४ घण्टाको समय लागेको थियो । शल्यक्रिया पश्चात् बिरामलाई आईसियु मा भर्ना गरियो र निजलाई दश दिन सम्म भेन्टिलेटरमा राखि चौधौँ दिनमा सर्जरी वार्डमा सारिएको सह प्रवक्ता  डा. अभिजीतले जानकारी दिए । अप्रेशनको   साह्रौँ दिनमा बिरामीलाई सफलता पुर्वक डिस्चार्ज समेत गरिएको सह प्रवक्ता डा. अभिजीतले बताए । 

सह प्रवक्ता डा. अभिजीतका अनुसार बिरामीको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको हुँदा उपचार खर्च छुटको सुविधा मिलाइ दिन प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले सिफारिश गरे अनुसार प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बिरामीको उपचारको सम्पूर्ण खर्चको छुट सुविधा मिलाइदिएका थिए ।