केराबारीः मोरङको केराबारीमा ऐतिहासिक मच्छिन्द्रनाथ मेला तेस्रो पटक शुरु भएको छ । मेलाको उद्घाटन केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले गरे ।

सो अवसरमा कार्कीले मेलाले केराबारीका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने भन्दै सो क्षेत्रका सांस्कृतिक पक्षको जगेर्ना गर्नुपर्ने बताए ।

मेलाबाट सङ्कलित रकमबाट केराबारी–८ मा निर्माण भइरहेको ज्येष्ठ नागरिक चौतारीलाई सहयोग गर्ने मेला आयोजक समिति संयोजक टङ्क लिम्बूले बताए । लिम्बूले केराबारी–१० मा निर्माणाधीन शव दाहस्थलका लागि पनि आर्थिक सहयोग गरिने बताए ।
उद्घाटनका अवसरमा वडा नम्बर ८ का अध्यक्ष मनोज खड्काले केराबारीलाई पर्यटकीय गाउँपालिकाको रूपमा विकास गर्न आफूहरू लागि परेको बताए । मेला उद्घाटनका अवसरमा च्याबु्रङ नाच, लाखेनाच, हुर्रा नाचसहितको झाँकीले केराबारी बजार परिक्रमा गरेको थियो ।

मेला माघ ३ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा स्थानीय कृषि उत्पादनको बिक्री एवं प्रदर्शनीदेखि लिएर विविध सांस्कृतिक कार्यक्रम पनि हुने बताइएको छ ।

मेलामा कलाकारहरू दीपक लिम्बू, ताराप्रकाश लिम्बू, ज्योति मगर, निशान भट्टराई, कमल खत्री, तृष्णा गुरुङ, मनिष लिम्बूलगायतले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

Maghesankranti Mahotsav