इटहरी । ३१ बर्ष पछाडी सुनसरीको बर्जु तालमा ठुलो सिलसिले हास (फल्भस व्हिस्लिङ डक ) देखिएको छ । सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोशीटप्पु र यसका आसपासका इलाकामा मध्य हिउद जलपक्षी (पानी चरा) को गणना गर्ने क्रममा शुक्रबार बर्जु तालमा उक्त चरा देखिएको हो ।
सन् १९७९ फेब्रुअरी १२ मा १५०० सिलसिले हाँसको बथानमा एउटा ठुलो सिलसिले हाँस कोशी व्यारेजमा रेकर्ड भएको थियो भने यो पटक बर्जुमा १६ ओटा देखिएको हो । १९७९ मा पहिलो पटक देखिएको यो चरा नेपालमा अन्तिम पटक सन् १९८७ मार्चमा कोशी व्यारेज मै देखिएको थियो ।
कोशी पन्छी समाजका सहसचिब तथा पूर्बी नेपाल जलपंक्षी गणना टोलिका संयोजक सन्जिब आचार्यका अनुसार सिमसारको आसपास बस्ने ठुलो सिलसिले बनस्पतिले ढाकेका तालहरुमा बस्ने गर्दछ । पोखरी धान खेतहरुलाइ समेत बासस्थान बनाउने यिनीहरुले मान्छेको उपस्थिति भएमा बासस्थान परिवर्तन गर्छन् ।
तराइका तालहरुमा बस्ने ठुलो सिलसिले उत्तर दक्षिण भारतिय भुमि र बंगलादेशका लागि आवासिय हुन भने नेपालको लागि फिरन्ते हुन् । कोशी पन्छि समाजले आफ्नो अगुवाईमा जलापंक्षी हरुको गणना गर्दै आएको छ । कोशिटप्पु र आसपासका क्षेत्रहरुमा स्वयसेवि रुपमा आरक्ष र प्रकृति सग काम गर्ने संघसंस्थासँग सहकार्य गरेर पाहुना चराहरू केकति आउँछन् भन्ने जानकारी लिन बिगत ७ वर्ष देखि पानी चरा गणना गर्दै आएको छ ।