तेह्रथुमः तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा खानेपानीको चरम समस्या रहेको छ । बजार र आसपासका बस्तीमा समेत पिउने पानीकै हाहाकार भएको छ । पानी अभावका कारण स्थानीयवासी तथा होटल व्यवसायीले ट्याक्टरबाट ढुवानी गरी उपभोग गर्न बाध्य भएका छन् ।

पोक्लाबाङ बजार आसपासका बस्तीसमेत गरी २ सय बढी घरधुरीमा खानेपानीको चरम समस्या रहेको छ । बजारवासी र स्थानीयले थाक्पाखोला मुहानबाट ल्याइएको खानेपानी योजनाबाट पानी उपभोग गर्दै आएका थिए । तर, वर्षेनी मुहान सुक्दै गएपछि अहिले हरेक वर्षजसो हिउँद याम शुरु हुनासाथ खानेपानीको समस्या हुने गरेको छ ।

होटल व्यवसायीले जलजलेको मूलपानीबाट ट्याक्टरमार्फत् पानी ढुवानी गर्ने गरेका छन् । केही स्थानीयले पिठ्यूँमा पानी बोकेरसमेत दैनिकी चलाएका छन् ।

गाउँपालिकाको केन्द्रमा जनसङ्ख्याको चाप बढ्दै गर्दा खानेपानीको चरम समस्या हुन थालेको हो । यता गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले भने डिप बोरिङ गरेर तत्कालका लागि खानेपानी समस्या सुल्झाउने तयारी रहेको बताए ।

Maghesankranti Mahotsav