दमकः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेको बताएका छन् ।

झापाको दमकमा रहेको भट्टराई कुलवंश प्रतिष्ठानको रजत महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले इतिहासदेखि नै मिलेर बस्दै आएका सबै जाति र धर्मबीच एकता रहिरहन आवश्यक रहेको बताए ।

देशका सबै जाति र धर्मलाई अधिकार सम्पन्न गराउन १० वर्षे जनयुद्ध लडेको स्मरण गराउँदै उनले राजनीतिक परिवर्तन भए पनि देशलाई समृद्धिको दिशामा लैजान कठिनाइ भइरहेको बताए । भट्टराई कुलवंश प्रतिष्ठानलाई मठमन्दिर र धार्मिकस्थलका रूपमा मात्र नभएर जनतालाई रोजगारी प्राप्त हुने प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद योगेश भट्टराईले वर्तमान सरकारले नै देशलाई समृद्धिको यात्रामा डो¥याउने जिकिर गरे । वर्तमान सरकारले तत्काल परिणाम निकाल्न नसके पनि बिस्तारै यसको परिणाम देखिने उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, प्रदेशसभा सदस्य कुलप्रसाद साँवा लिम्बू, संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीलगायतले मन्तव्य राखेका थिए । महोत्सव यही पुस २९ गतेसम्म चल्नेछ । महोत्सवमा देशभरका भट्टराई कुलवंशका प्रदेश, जिल्ला र नगर समितिका साथै म्यान्मा, आसाम, सिक्किम र बङ्गाल राज्य समितिबाट पनि सहभागी छन् ।

Maghesankranti Mahotsav