इटहरीः यो साता प्रदेश १ मा धेरै व्यक्तिहरू समाचारका हेडलाइन बने । गत शनिबारदेखि यो शनिबारसम्म हेडलाइन बनेका थुप्रै व्यक्तिहरू छन् । तिनै व्यक्तिहरूमा साताका शीर्ष ७ न्युजमेकर व्यक्ति यसप्रकार छन्ः

१. डाक्टर गोविन्द केसी
पुस २५ गते बिहीबारदेखि इलाममा अनसन बस्दैछन् डाक्टर गोविन्द केसी । आफ्नो १५ औँ अनसन जुम्लामा बसेका केसी १६ औँ अनसनको लागि इलाममा आएका छन् । बुधबार साँझ इलाम आएका डाक्टर केसीले सरकारले आफूसँग सहमति गरेका माग पूरा नगरेको भन्दै अनसन जारी गरेका छन् । गत साउन १० गते भएको सम्झौता पूरा गर्नुपर्ने भन्दै केसी अनसनमा छन् । पूर्वको इलाम वा पाँचथरमध्ये कुनै एक ठाउँमा मेडिकल कलेज खोल्नुपर्ने, एमबीबीएसमा ७५ प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने र स्नातकोत्तर तहका कक्षाहरू निःशुल्क गर्नुपर्नेलगायतका माग केसीका छन् ।

२. विजय थापा
विजय थापा कुनै चिनिएको नाम होइन । तर, शुक्रबारबाट थापा एकाएक चर्चामा छन् । ओखलढुङ्गाका थापाले इलाम बजारको लाकुरी चौतारीमा अनसन शुरु गरेका छन् । गोविन्द केसीको अनसनको काउन्टर अनसनजस्तै देखिएको छ । थापाको अनसनमा नेपालका हजारौँ विद्यार्थीहरू मेडिकल पढ्न विदेशिएको भन्दै उपत्यका र देशैभरि मेडिकल कलेज खोल्ने वातावरण हुनुपर्ने थापाका माग छन् । सरकारी सेवामा बसेकाले राजनीति गरे बर्खास्त गर्नुपर्ने, बलात्कारका दोषीलाई फाँसीको सजाय दिनुपर्ने लगायतका ९ बुँदे मागसहित थापाको अनसन जारी छ ।

३. सुवास तामाङ
बेलबारीका सुवास तामाङ पनि यो हप्ता चर्चामा रहे । २०७२ असार २४ गते साउदी अरबमा आफ्ना साथी कपिलवस्तुका टेकेन्द्र भण्डारीसँगै दुर्घटनामा परे तामाङ । दुर्घटनामा अचेत भएका थिए तामाङ, मृत्यु भएको थियो भण्डारीको । तर, सञ्चारसम्पर्क नहुँदा र अस्पतालमा कसैलाई जान नदिँदा उपचाररत तामाङको मृत्युको खबर परिवारले पायो । शव क्षतविक्षत भएको र अनुहार चिन्न नसकिएको हुनाले तामाङको भनेर भण्डारीको शव बेलबारी ११ मा तामाङको घरमा ल्याइयो ।

२ सन्तान र एक श्रीमती भएका तामाङको काजकिरिया गरिन् श्रीमती सन्तोषी तामाङले । ३ महिनापछि जब उपचाररत तामाङको होश आयो तब थाहा भयो काजकिरिया गरिसकेका व्यक्ति जीवितै रहेछन् । हाल तामाङ बेलबारी फर्केका छन् । उनी सिटी सफारी चलाएर गुजारा गरिरहेका छन् । यो समाचार बुधबार प्रदेश पोर्टलमा आएपछि तामाङ अहिले धेरै सञ्चारमाध्यमका समाचारका हेडलाइन बनिरहेका छन् ।

४. प्राध्यापक डाक्टर आरके रौनियार
प्रदेश १ र २ का पूर्वी क्षेत्रका अधिकांश अस्पतालहरूको रेफरल सेन्टर तथा पूर्वको सबैभन्दा सुविधासम्पन्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति आरके रौनियार चर्चामा रहे । नेपालका उत्कृष्ट रेडियोलोजिस्टको परिचय बोकेका रौनियार रेडियोलोजि विभागका विभागीय प्रमुख हुँदै उपकुलपति भएका हुन् ।

गत मङ्गलबार नेकपा धरानका नेताहरू मुरारी सुवेदी, नारायण सुवेदी, वेणु काफ्ले, हिमाल लिम्बूलगायतका नेताहरूले भेटेर प्रतिष्ठान सुधार हुनुपर्ने बताएका थिए । भेटमा रौनियार र नेकपा नेताहरूबीच चर्काचर्की पनि भएको थियो । रौनियारसँग भेटेको भोलिपल्ट इनरुवा पुगेर स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग पनि नेकपाका नेताहरूले भेट गरेका थिए । यादवलाई भेट गरेर नेकपा नेताहरूले रौनियार हटाउनुपर्ने माग गरेको मिडियामा चर्चा आएको थियो । यी र यस्तै कुराहरूले गर्दा रौनियार यस पटक चर्चामा रहे ।

५. उषाकला राई
प्रदेश १ की प्रदेश सांसद उषाकला राई पनि यो साता चर्चित न्युज मेकर बनिन् । बुधबार सङ्घीय राजधानी काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा आमाको मृत्यु भएपछि राई आफैं आमाको किरिया गर्न बसिन् । कपाल मुण्डन गरेर आमाको किरिया बसेकी सांसद राईको कामको सामाजिक सञ्ंजालमा चौतर्फी प्रशंसा भएको थियो ।

६. जीवन पराजुली
यो सातामा न्युज मेकर बन्नेमा इटहरीका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पराजुली पनि परे । माघ २४ गतेदेखि १० दिनसम्म हुने खाद्य महोत्सवमा हेलिकोप्टर उडान हुने भएकाले पराजुली चर्चामा छन् । ४ हजार ९ सय रुपैयाँमै उडान हुने हेलिकोप्टरबाट इटहरी र धरान आसपास परिक्रमा गराइने पराजुलीले बताए । होटल व्यवसायी सङ्घ इटहरीले पहिलोपटक यस्तो सेवा गर्न खोजेकाले पराजुली चर्चामा आएका हुन् । इटहरी र धरान आसपास रमाइलो उडान हुने भनिएकोमा इटहरीबाट २ दिन ताप्लेजुङको पाथीभरासम्म उनी धार्मिक यात्राको लागि उडान हुने पराजुली बताउँछन् ।

७. तारा पराजुली
बेलबारी नगरपालिकाकी उपमेयर तथा नेपालकी चर्चित कवि ढाकाकुमारी (तारा) पराजुली पनि यो साता न्युजमेकर बनिन् । आफ्नो नगरपालिकाको वडा नम्बर ९ मा जटिल रोगबाट ग्रसित आश्मा धिमाल र आर्यन धिमाल दिदी भाइको उपचारमा उपमेयर आफँै खटिन् । न्यानो कपडा वितरण र उपचारमा आफैँ खटेर धरानको बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान लगेकी पराजुली यो साता धेरैतिर समाचारको शीर्षक बनिन् ।

Maghesankranti Mahotsav namje