बेलबारीः नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा अहिलेको सरकार दोषी नरहेको कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले बताएका छन् ।

शनिवार मोरङको बेलबारी नगरपालिका वडा नम्बर– ९ ले आयोजना गरेको जनतासँग मन्त्री भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले खरिद निर्णय काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमको भएको बताएका छन् । उनले देउवा प्रधानमन्त्री भएको समयमा उनकै नेतृत्वमा रहेको पर्यटन मन्त्रालय दोषी भएको बताएका हुन् । लेखा समिति प्रतिपक्षी दलका सांसदको नेतृत्वमा भएकाले यो सरकारलाई असफल बनाउन समिति लागि परेको समेत उनले आरोप लगाए ।

‘देउवा प्रधानमन्त्री भएको ४ दिनपछि २०७४ जेठ २४ गते गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिशको निर्णय भएको थियो’, उनले भने, ’त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।’

सरकारलाई असफल बनाउन विभिन्न तानाबुना बनाएको समेत उनले आरोप लगाए । विमान खरिद प्रकरणमा पूर्वमन्त्रीहरू जीवनबहादुर शाही, जितेन्द्रनारायण देव पछि मात्रै रवीन्द्र अधिकारी मन्त्री भएको समेत उनले बताए । जीवनबहादुर शाही मन्त्री भएको समयमा ८ अर्ब दिएको बताउँदै मन्त्री ढकालले अहिले रवीन्द्र अधिकारीले १६ अर्ब दिएको समेत बताए ।

अहिलेको सरकारले पैसा नदिँदा वाइडबडी विमान नआउने भएकाले पैसा दिएको उनले बताए । उनले छानबिन समिति सरकारले बनाइसकेको समेत बताए । दोषी ठहरिएका व्यक्तिलाई कार्वाही गर्नेसमेत उनले बताए ।