बेलबारीः कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् । निर्वाचन क्षेत्रमा जनतासँग साक्षात्कार गर्न पुगेका ढकालले गोविन्द केसी संविधानभन्दा माथि नरहेको टिप्पणी गरे ।

‘अघिल्ला अनसनहरूमा उहाँलाई सरकाले छुट दिएका कारण केसी १६ अध्यायसम्म आएर बसिरहनु भएको छ’, मन्त्री ढकालले भने, ‘शिक्षण अस्पतालको डाक्टरले जागिर खाएर अनसन बस्न मिल्दैन ।’ ढकालले २३ बुँदे सहमतिमा २१ बुँदामा छलफल भइरहेको समेत बताए ।

‘गोविन्द केसी चिसोमा आएर अनसन बस्नुभएको रहेछ’, केसीलाई व्यङ्ग्य गर्दै उनले भने, ‘उहाँलाई स्वास्थ्य लाभको कामना छ ।’

बेलबारीको भाउन्ने आमतोला सडक छिटै बन्ने उनले बताए । सङ्घीय सरकारको २ करोड, प्रदेशको १ करोड ३० लाख र स्थानीयको १ करोड १० लाख रुपैयाँ सो सडकको लागि छुट्टिएको उनले बताए ।

बेलबारीको अस्थायी प्रहरी चौकी तथा स्वास्थ्य चौकीको निरीक्षणसमेत गरेका मन्त्री ढकालले प्रहरी चौकीलाई स्थायी बनाउने तथा स्वास्थ्य चौकीको स्तरवृद्धि गर्ने समेत बताए ।