तेह्रथुमः फेदाप गाउँपालिका–२, ओयाक्जुङको हाङसुरुङस्थित धार्मिक तथा सांस्कृतिक महत्वको मझौ कमलादेवी गुफा प्रचारप्रसार र पूर्वाधार अभावमा ओझेलमा परेको छ ।

सो गुफामा आवश्यक पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न सके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन् । गुफाको प्रचार प्रसारका लागि स्थानीयवासीको अगुवाइमा हरेक वर्ष माघेनी मेला आयोजना गरिन्छ । धार्मिक दृष्टिले महत्वपूर्ण मानिए पनि गुफा परिसरमा पूर्वाधार निर्माण तथा संरक्षणमा सम्बन्धित निकायले अहिलेसम्म चासो दिएको छैन ।

गुफाभित्र विभिन्न आकृतिका देवी देवता अङ्कित आकृति छन् । गुफाको भित्रभित्रै कलकल पानी बगेको आवाज सुनिन्छ । गुफाको बाहिरी भाग तथा गुफा वरिपरि ठूलाठूला चट्टानले घेरिएको छ । गुफाभित्र चट्टानद्वारा स्थापना भएको देवता भनेर पूजिने शिला, ढुङ्गे औजार, कालो पत्थरमा कुँदिएका बुट्टा देख्न सकिन्छ ।

गुफाको मूर्तिमा पूजा गरी, एकाग्र हुन सके चिताएको पुग्ने विश्वासमा गुफामा वर्षेनी सयौँको सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।
यस वर्ष पनि माघ १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने मेलामा खुला पुरुष भलिबल प्रतियोगिता, लोक नृत्य र धान नाच प्रतियोगिता गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर मादेम्बाले बताए ।