झापाः झापाको कमल गाउँपालिका–५ स्थित मङ्गलमय माध्यमिक विद्यालयमा एक दाताले आफ्ना दिवङ्गत पितृको स्मृतिमा प्रवेशद्वार निर्माण गरेका छन् ।

विद्यालयका पूर्वअध्यक्ष तथा जग्गादाता स्व. सन्तकुमार वान्तवाको स्मृतिमा उनका श्रीमती कृष्णकुमारीसहित छोरा कमल, गणेश र भीष्म राईले करीब ७५ हजार रुपैयाँको लागतमा प्रवेशद्वार निर्माण गरिदिएका हुन् ।

विद्यालयको ४७ औँ वार्षिकोत्सवको अवसर पारेर नवनिर्मित प्रवेशद्वारको प्रदेशसभा सदस्य अर्जुन राई र गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले उद्घाटन गरे ।

प्रधानाध्यापक मोहनकुमार बगालेका अनुसार विद्यालयमा सुस्तश्रवण विद्यार्थीका लागि निर्मित २ कोठे पक्की छात्रावास भवनको समेत उद्घाटन गरिएको थियो । उक्त भवन जिल्ला शिक्षा समन्वय एकाइमार्फत प्राप्त १७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णानन्द शर्माले बताए । विशेष कक्षामार्फत् विद्यालयमा ३० सुस्तश्रवण छात्रछात्रा आवासीय रूपमा अध्ययनरत रहेका छन् ।