फाइल तस्बिर

विराटनगरः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ६० हजार कर्मचारी समायोजनका लागि तयार भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ७० प्रतिशत कर्मचारीले स्थानीय तहमा जाने सहमति गरेको बताए । मन्त्री पण्डितले माघ २ गतेसम्म समायोजनको सीमा रहेको र त्यसको २१ दिनभित्र तोकिएको क्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरिने जनाए ।

सङ्घ, प्रदेश र स्थानीय निकायमा गरी १ लाख ३८ हजार कर्मचारीको दरबन्दी रहेको र आवश्यक अपुग कर्मचारी सङ्घीय लोक सेवा आयोगले छोटो प्रक्रियाबाट पदपूर्ति गर्ने मन्त्री पण्डितले जनाए । कर्मचारीको स्तरोन्नति, थप ग्रेड वृद्धि तथा वृत्ति विकास गर्न कर्मचारीका लागि सम्पूर्ण ढोका खोलेको र अवकाश पछिको सम्पूर्ण सेवा सुविधा भुक्तानी गर्न सङ्घीय सरकार जिम्मेवार रहेको उनले बताए ।

प्रदेश लोक सेवा आयोग गठन नभएसम्म प्रदेश र स्थानीय तहका लागि अपुग जनशक्ति सङ्घीय लोक सेवा आयोगले नै पदपूर्ति गर्ने उनको भनाइ थियो । सङ्घीयताको सफल कार्यान्वयन गर्न वर्तमान सरकारले अध्यादेशमार्फत् कर्मचारी समायोजनको योजनता ल्याएको बताउँदै कतिपय देशमा सङ्घीय व्यवस्थापन कायम गर्न ९ वर्षसम्म लागेको उनले जनाए ।

विगतको सरकारले ल्याएको स्वेच्छिक अवकाशका लागि राज्यसँग रकम भुक्तानी गर्ने हैसियत नभएको प्रष्ट पार्दै उनले शपथ लिएका कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्न तोकिएको क्षेत्रमा गएर जनताको सेवा गर्नुपर्ने बताए ।