इलामः रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची राजमार्ग पर्छ । गाउँपालिकाका थुप्रै स्थानमा सवारी गुड्छन् । तर, गाउँपालिका अध्यक्ष सम्सेर राई भने गाडी चढ्दैनन् ।

आफूले गाडी नचढ्ने निर्णय गरेका अध्यक्ष राईले गाउँपालिकाको एक सामुदायिक विद्यालयलाई भने गाडी किनिदिएका छन् । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालयलाई मेयरले गाडी किन्न गत वर्ष ३० लाख रुपैयाँ दिए । गाउँपालिकाको अनुदानमा विद्यालयको आन्तरिक स्रोतबाट ५ लाख हाराहारी रकम थपे प्रधानाध्यापक प्रेम राईले । र, सरकारको राजस्व छुट पाएर विद्यालयले गाडी पाएको छ ।

विद्यालयलाई गाडी किनिदिएका गाउँपालिका अध्यक्ष राई आफू भने गाडी नचढ्ने बताउँछन् । ‘प्रदेश र सङ्घीय सरकारले दिएको अनुदान र जनताको करको पैसामा म गाडी ५ वर्ष नै नकिन्ने’, अध्यक्ष राईले भने, ‘सङ्घीय वा प्रदेश सरकारले आफैँ गाडी दियो भने वा कुनै कार्यालय मर्ज भएर आउँदा गाडी आएमा मात्रै गाडी चढ्ने छु ।’

हाल झापाको सिमानादेखि इलामको कोलबुङ क्षेत्रसम्मका विद्यार्थी गाउँपालिकाले किनिदिएको पहेँलो रङको आकर्षक गाडीमा सामुदायिक विद्यालय जान्छन् । यो गाडीमा दैनिक १ सय २० विद्यार्थी चढ्ने गरेको चालक उमेश गुरुङले बताए ।

गाडीको व्यवस्थापन भएपछि सरकारी विद्यालयको आकर्षण बढ्योः गाउँपालिका अध्यक्ष
गत वर्षको साउनमा गाडी किन्ने निर्णय भएर हाल सञ्चालन भएको गाडीले सरकारी विद्यालयमा आकर्षण थपेको अध्यक्ष राई बताउँछन् । उनी भन्छन्, ‘अब गाडी चढ्ने निजी विद्यालयका धनी मात्रै हुन् भन्ने चलन हटेर सरकारी विद्यालयमा नि यस्तो सुविधा हुनेरै’छ भन्ने धारणा बसेको छ ।’

सरस्वती माध्यमिक विद्यालयलाई जस्तै गाउँपालिकाले इलामको कुटीडाँडाको शान्ति निकेतन विद्यालयको लागि पनि पनि १० लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष राई बताउँछन् । उनी भन्छन्, ‘अब मिलेसम्म सबै सामुदायिक विद्यालयमा विद्यालयको गाडी, दुग्ध सहकारीमा दूध बोक्ने गाडी र वडाहरूमा फोरह्वील एम्बुलेन्स दिने होमवर्कमा छौँ हामी ।’

२० हजार हाराहारी जनसङ्ख्या र ६ वडा भएको रोङ गाउँपालिकामा सबै क्षेत्रमा पक्की बाटो बनाउने र विद्यार्थीलाई विद्यालय जान अनि कृषि उपज बजार लान सहज बनाउने आफ्नो प्रमुख प्राथमिकता हुने अध्यक्ष राईले बताए ।

Maghesankranti Mahotsav namje