सुनसरीः  सुनसरीको धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब १९० किलोग्राम गाँजा बरामद गरिएको छ ।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ् गरी ल्याउँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानले मङ्गलबार बरामद गरेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार चेकजाँचका लागि रोक्ने क्रममा चालक सडकमा कार छाडेर फरार भएका छन् । सोही कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाइलकमा सवार दुई जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शङ्कास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको छ ।

बरामद गाँजा, कार, मोटरसाइकल र व्यक्तिलाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको डिएसपी थापाले जानकारी दिए ।