काठमाडौँः नेपालले वस्तु निर्यात गरेर प्राप्त गर्ने आम्दानीभन्दा भ्रमणका लागि नेपालबाट बाहिरिने रकम धेरै भएको पाइएको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को चार महिना (साउन–कात्तिक)मा नेपालले वस्तु निर्यात गरेर ५२ अर्ब ६७ करोड रुपियाँ आम्दानी गरेको छ । यही अवधिमा भ्रमण प्रयोजनका लागि नेपालबाट ६८ अर्ब ३१ करोड रुपियाँ बाहिरिएको छ । मुलुकमा उत्पादित वस्तु विदेशमा बेचेर गरेर प्राप्त हुने रकमभन्दा विभिन्न किसिमका भ्रमण प्रयोजनका लागि नेपालबाट बाहिरिने मुद्रा १५ अर्ब ६४ करोड रुपियाँले बढी भएको तथ्याङ्कले देखाउँछ । अर्थात् भ्रमण शीर्षकका लागि हुने खर्चलाई नेपालबाट हुने निर्यातको कुल आम्दानी पनि पर्याप्त देखिँदैन ।
व्यक्तिगत भ्रमणमा बाहिरियो सतसट्ठी अर्ब
चार महिनामा व्यक्तिगत भ्रमणका लागि नेपालबाट बाहिरिने रकम करिब ६७ अर्ब रुपियाँ पुगेको छ । जबकि यसबिचमा नेपाल भित्रिनेबाट नेपालले २६ अर्ब ८४ करोड रुपियाँ आम्दानी गरेको छ । यस हिसाबले नेपाल भ्रमणमा आउनेभन्दा नेपालबाट व्यक्तिगत भ्रमणका लागि बाहिरिनेले ४१ अर्ब ४६ करोड रुपियाँ बढी खर्च भएको देखिन्छ ।
व्यक्तिगत भ्रमण अन्तर्गत सबैभन्दा धेरै उच्च शिक्षा अध्ययनका लागि नेपालबाट बाहिरिने गरेको खर्च सबैभन्दा धेरै छ । चार महिनाको छोटो अवधिमै उच्च शिक्षाका लागि जानेले ३७ अर्ब ७२ करोड रुपियाँ खर्च गरेका छन् । जबकि सोही अवधिमा शिक्षासँग सम्बन्धित भ्रमणका लागि नेपाल आउनेले एक अर्ब ७९ करोड रुपियाँ खर्च गरेका छन् ।
उच्च शिक्षाका लागि नेपालबाट बाहिरिने रकम गत आवको चार महिनाको तुलनामा केही बढेको पनि छ । राष्ट्र बैङ्कका अनुसार गत आवको तुलनामा एक अर्ब रुपियाँभन्दा बढी रकम यस शीर्षकमा थप खर्च भएको छ ।
स्वास्थ्य उपचारका लागि समीक्षा अवधिमा २२ करोड २५ लाख रुपियाँ खर्च भएको छ । सोही उद्देश्यका लागि नेपाल आउनेबाट पाँच करोड ५० लाख रुपियाँ आम्दानी भएको देखिन्छ । अन्य किसिमका भ्रमणबाट नेपालबाट २९ अर्ब रुपियाँ बाहिरिएको छ ।
त्यस्तै यस अवधिमा सोही शीर्षकमा २४ अर्ब ८७ करोड रुपियाँ भित्रिएको छ । यस शीर्षकमा खास गरी घुमघामको उद्देश्यसहित पर्यटकले गर्ने खर्चलाई समावेश गरिएको छ ।
व्यावसायिक भ्रमणमा हुने खर्च बढ्यो
व्यावसायिक प्रयोजनको भ्रमणका लागि नेपालबाट बाहिरिने रकम अत्यधिक बढेको छ । चार महिनाको अवधिमा एक अर्ब ३३ करोड रुपियाँ व्यावसायिक भ्रमणका लागि नेपालबाट बाहिरिएको छ । जबकि गत आवको सोही अवधिमा ९४ करोड ३० लाख रुपियाँ यस्तो प्रयोजनको भ्रमणमा खर्च भएको देखिन्छ ।
तथ्याङ्क अनुसार एक वर्षको अन्तरमै व्यावसायिक प्रयोजनका लागि ३९ करोड रुपियाँभन्दा बढी रकम थप खर्च भएको छ । व्यापार व्यवसायको उद्देश्यसहित नेपालबाट बाहिरिनेले गर्ने खर्च यस भ्रमण शीर्षक अन्तर्गत राखिन्छ ।
यसबिचमा सोही उद्देश्यका लागि नेपाल आउनेले भने केवल १२ करोड ३९ लाख रुपियाँ खर्च गरेको तथ्याङ्क छ । यस हिसाबले व्यावसायिक भ्रमण शीर्षकमा नेपाललाई चार महिनामा एक अर्ब २१ करोड रुपियाँ घाटा भएको देखिन्छ । गत आवको चार महिनामा व्यावसायिक भ्रमणका लागि नेपाल आउनेले ४८ करोड ६६ लाख रुपियाँ खर्च भएको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाउँछ । उक्त वर्ष यस्तो भ्रमणमा हुने खर्च घाटा भने यस पटकभन्दा कम छ । गत आवमा व्यावसायिक भ्रमणबापत हुने खर्च घाटा ४५ करोड ६५ लाख रुपियाँ रहेको तथ्याङ्कले देखाएको छ ।