विराटनगरः भूकम्पबाट तत्काल जोेगिन ‘घुँडा टेकी गुडुल्की, ओत लागि समात’ भन्ने चेतना सबैले राख्नुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको पूर्वसन्ध्यामा विराटनगरमा भूकम्पसम्बन्धी सचेतना कार्यक्रम गरिएको हो । आम नागरिकलाई सचेतना जगाउने उद्देश्यसाथ गरिएको कार्यक्रममा भूकम्पप्रतिको सचेतनाले जनधनको क्षति कम गर्न सहयोग पुग्ने नेपाल प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले बताए ।

नेपालमा वि.सं १९९०, २०४५ र २०७२ मा गएका भूकम्पबाट धेरै धनजनको क्षति भएकाले भूकम्प आउनुपूर्व, भूकम्पको अवस्थामा र भूकम्पपछि खोज तथा उद्धारमा खटिन चाहिने सामग्री राज्यले समयमै बन्दोबस्त गरी राख्नुपर्ने सो कार्यक्रममा बताइयो ।

भूकम्पलाई रोक्न नसकिने भए पनि यसबाट बच्न सकिने उपाय अवलम्बन गर्न सकिए धनजनको कम क्षति हुने हुनाले सबैलाई भूकम्पसम्बन्धी सचेतना दिनुपर्ने आवाज उठेको थियो ।

माघ २ गते भूकम्प दिवसको अवसरमा स्थानीय तहबाट ¥याली निकाल्ने, जनचेतनामूलक कार्यक्रम गर्ने र विराटनगरको हाटखोला चोकमा अपराह्न २ बजे भूकम्पबाट जोगिन सकिने प्रदर्शनी गरिने बताइएको छ ।