इलामः चिकित्सा शिक्षा विधेयक संशोधनको माग गर्दै १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसी सत्याग्रहको पाँचौँ दिन चलिरहँदा उठेर बस्नसमेत नसक्ने अवस्थामा पुगेका छन् । डा. केसीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक रामकृष्ण आचार्यका अनुसार शनिबारदेखि डा. केसीलाई समस्या देखिएको छ ।

उनलाई मिडियालगायत अरू कसैसँग गफगाफ गर्न पनि दिइएको छैन । ‘सङ्क्रमणको खतरा हुन सक्ने भएकाले उहाँको नजिक जान मिल्दैन र उहाँलाई बोल्न गाह्रो भएको छ,’ आचार्यले भने । भुइँमा अनसन बसेका डा. केसीलाई अहिले खाटमाथि राखिएको छ । केसीको रक्तचाप र ग्लुकोजको मात्रा दिनैपिच्छे घटिरहेको आचार्यले बताए ।

DR KC (3)

१६ औं सत्याग्रहमा रहेको पाँचौ दिनसम्म पनि सरकार र संसद्को ध्यानाकर्षण हुन सकेको छैन । अहिलेसम्म केसी र उनको अभियानका अभियन्ता कसैलाई पनि सरकार पक्ष र संसदीय समितिका पदाधिकारीलगायत कसैले सम्पर्क नगरेको पत्रकार धर्म गौतमले बताए ।

‘अहिलेसम्म सरकारी पक्षबाट कसैले उहाँलाई सत्याग्रहबारे सोधेकोसम्म छैन, गौतमले भने, ‘अहिलेसम्म सबै चुप छन् ।’ डा. केसी आफ्ना मागप्रति प्रतिबद्ध रहेको र जुनसुकै हालतमा पनि पूर्वसहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन दबाब दिने अडानमा रहेको गौतमले बताए ।

केसीको समर्थनमा दिनहुँ ¥याली र कोणसभा

DR Kc Ryali
डा. केसीको अभियानमा समर्थन जनाउँदै दिनहुँ इलाममा ¥याली र कोणसभा हुँदै आएको छ । इलामवासी नागरिक स्वःस्फूर्त रूपमा केसीको समर्थनमा बजारमा देखिन थालेका छन् ।
अग्रज पत्रकार केदार शर्माले डा केसीले उठाएका माग पूरा गराउन नागरिक खबरदारी र दबाब आवश्यक रहेको बताए । गत साउन १० मा सरकारसँग भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन डा. केसीको माग छ । सहमतिविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि गत बुधबारदेखि ६ बुँदे माग राखेर केसीले सत्याग्रह थालेका छन् ।

Itahari food festival 1