इलामः नेपालको पुरानो इतिहास बोकेको निशान पद मार्ग पहिचान गरि यसको संरक्षणको प्रयास थालिएको छ । इलामका ३ पालिका र नेपाली सेनाको रण सार्दल गणले दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै इलाममा निसान पदयात्रा सुरु गरिएको छ ।
निशान वीरतापूर्ण इतिहास पछिको सन्धिलाई स्मरण गर्दै भारतीय सीमा सूर्योदय नगरपालिका ४ मेचीबाट इलाम सूर्योदयको विभिन्न स्थान हुँदै माहजोगमाई गाउँपालिका हात्तीटार भएर इलाम सदरमुकाम सम्मको ३ दिने पदयात्रा थालिएको हो ।
नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न करिब २ सय ५० भन्दा बढीले पदयात्रा थालेका हुन् । नेपाल–भारत सीमा छब्बिसेस्थित मेची बजारबाट सुरु गरिएको ४१.१ किलोमिटरको पदयात्रा भोली २६ गते शुक्रवार इलाम सदरमुकाम आइपुगेर सम्पन्न हुनेछ ।
नेपाल एकीकरण अभियानको क्रममा विसं १८३१ असोजमा नेपालको सिमाना टिष्टा नदी कायम भएको र विसं १८७२ फागुन २० गते भएको सुगौली सन्धी पश्चात् नेपालको सिमाना मेची नदी कायम भएको थियो । सन्धिको शर्त अनुसार नागरीगढी र टिष्टा सम्मको भूभाग ४० दिनभित्रमा खालि गर्नुपर्ने भएकोले नेपाली सेनाको श्रीनाथ पल्टन उक्त स्थानबाट हालको सूर्योदय नगरपालिका वडा नं ११ स्थित पूर्णेडाँडा आएर बसेको इतिहास विध युद्ध प्रसाद वैद्य बताउछन । उनका अनुसार लामो समय पूर्णेडाडामा बसेपछि नेपाल(भारत सिमाना नजिक भएको कारण त्यहाँबाट माइजोगमाइ वडा नं ४ स्थित हात्तीटारमा केही समय रही इलाम नगरपालिका वडा नं ७ स्थित माईस्थान मन्दिर परिसरमा विसं १८७५ मा आफ्नो निशान स्थानान्तरण गरेको थियो ।
तत्कालीन नेपाली सेनाको श्रीनाथ पल्टनले आफ्नो निशान लिएर नागरीगढी पूर्णेडाँडा हात्तीटार माईस्थान सम्म पैदल हिँडेको मार्गलाई निशान पदमार्गको रूपमा विकास गरी इलाम जिल्लाको धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्वलाई प्रवर्धन गर्ने, स्थानीयवासीहरूको आस्थाको केन्द्र माईस्थान मन्दिर परिसरमा स्थापना गरिएको नेपाली सेनाको निशान र तोपलाई जगेर्ना गरी पर्यटन प्रवर्धनमा समेत टेवा पुऱ्याउने निशान पदमार्ग निर्माणको उद्देश्य रहेको सूर्योदय नगरपालिका प्रमुख रण बहादुर राई बताउछन ।
निशान पदमार्गको टोलीलाई ३ वटै पालिकाका विभिन्न स्थानमा स्थानीय बासीले फुलमाला चिया नास्ता समेत दिएर स्वागत गरेका थिए भने विभिन्न झाकी समेत देखाइएको थियो ।
पूर्वको भू–भाग विजय गरेर अहिले भारतमा पर्ने नागरीगढीमा गाडेको निसान सुगौली सन्धिपछि फर्काएर अहिलेको इलाम सदरमुकाम ल्याइएको इतिहास छ । त्यहाँबाट करफोकको पूर्णेडाँडा–नामसालिङको हात्तीटार हुँदै अहिलेको सदरमुकामसम्म ल्याइएको इतिहास छ । बुधबार मेचीबजारमा बिहान सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई, इलाम नगरका मेयर केदार थापा, माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेलगायतले संयुक्त रूपमा पदयात्रा शुभारम्भ गरेका थिए सूर्योदयको भिन्न स्थानमा बुधबार दिनभर र बिहीबार ३ बजे सम्म यात्रा गरेपछि अहिले पदयात्राको टोली माहजोगमाईको हात्तीटारमा पुगेको छ । आज त्यही बास बसेर उक्त टोली भोली शुक्रवार इलाम सदरमुकाम सम्म पुग्ने कार्यक्रम रहेको माइजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले बताए।
पद यात्रामा सूर्योदय नगर उप प्रमुख दुर्गाकुमार बराल, इलाम नगरपालिका उप प्रमुख विष्णुकुमारी लिम्बु दाहाल माइजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राई, इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेनाको रणशार्दूल गणका गणपति प्रल्हाद घले, जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकाललगायत जनप्रतिनिधि सरोकारवाला पत्रकार स्थानीयवासी पर्यटन व्यवसायी लगायत सहभागी भएका छन् ।
श्रीनाथ पल्टनले त्यसबेला प्रयोग गरेकै पोसाकमा सजिएर नेपाली सैनिक साङ्केतिक रूपमा निसान, खुँडा, ढाल, तरबारलगायत बोकेर पदयात्रा गरिरहेका छन् भने नौमती बाजा डोल झ्याम्टा बाजागाजाको साथ इलाम बासी कुनै ठुलै चाड आए जसरी होमिएका छन् । स्थानीय बासीले पदयात्रा गर्ने मार्ग अगाडिको घरमा कलश फूल आदि राखेर स्वागत गरेको पाइएको छ ।
नेपालीले गौरव गर्ने इतिहास बोकेको निसान र निसान ल्याइएको मार्गमा पदयात्रा गर्ने कार्य इतिहास हाम्रा भावी पुस्ता सम्मलाई चिनाउन सुनाउन र पर्यटन प्रवर्द्धन गर्न पनि यो निशान पदमार्गमा पदयात्रा गरिएको इलाम नगरपालिका प्रमुख केदार थापाले बताए।
नागरीगढीबाट इलाम बजार ल्याइएको निसान र तोप इलामको माइस्थान मन्दिरमा नेपाली सेनाको निगरानीमा राखिएको भएपनि सशस्त्र समयमा तत्कालीन शाहि नेपाली सेनाले निसान र तोप काठमाडौँ स्थानान्तरण गरेको थियो । उक्त निसान २०७४ सालमा र तोप २०७९ सालमा इलाम सदरमुकामको माइस्थान मन्दिरमा ल्याएर पुनर्स्थापित गरिएको छ ।