इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिँउदको मौसममा दिन चाँडै बित्ने भएकाले संसद बैठक बस्न नसकेको तर्क गरेका छन् । केही विज्ञहरूले हिउँदको मौसममा दिन छोटा हुने सुझाव दिएका कारण दिन लम्बिएपछि बैठक बस्ने उनले बताए ।
संसदमा बिजनेसको अभाव नरहेको र पहिलो बैठकमै १५ वटा कानुनको मस्यौदा टुङ्गो लाग्ने उनको भनाइ छ । साथै चैतको पहिलो साता सम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिइने उनले बताए । उनका अनुसार मन्त्रालयको सङ्ख्या ठूलो भयो भने प्रदेश सरकारले धान्न नसक्ने भन्दै उनले बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् गठन गरिने भएको छ ।
प्रदेश सभाको हिउँदे अधिवेशन शुरु नभएको विषय पेचिलो बन्दै गर्दा मुख्यमन्त्रीबाट दिन छोटो भएकाले अधिवेशन शुरु नभएको कुरा आएको हो । मुख्यमन्त्रीका अनुसार माघको पहिलो साता हिउँदे अधिवेशन शुरु हुने भएकाले त्यही अधिवेशनमा प्रदेशको नाम र राजधानी टुङ्गो लाग्ने भएको छ ।
‘यस विषयमा विज्ञहरूको समूहले आफ्नो गृहकार्य गरिरहेको छ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षीलगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग पनि कुरा भइरहेकाले अब नाम र राजधानी टुङ्गो लाग्छ ।’
फरक प्रसङ्गमा उनले प्रदेश सरकारले अब गोष्ठी सेमिनारलगायत औपचारिक कार्यक्रममा भन्दा पनि प्रविधिको उच्चतम उपयोग गर्दै सुशासन र पारदर्शीतामा जोड दिन लागिपरेको बताए ।
सरकार प्रभावकारी भएन भन्ने जनताको गुनासो स्वाभाविक रहेको उनले बताए । प्रदेश सरकार शून्यमा बनेका कारण कानुन, जनशक्तिलगायत धेरै विषयहरू टुङ्गो लगाउनुपर्ने भएकाले समस्या आएको उनको तर्क छ ।
कृषि, वन र वातावरणका विषयमा प्रदेश सरकारले नमुना योजना ल्याउन लागेको उनले बताए । सो योजनामार्फत् हरित तथा आत्मनिर्भर प्रदेश बनाउने अभियान शुरु गरिने उनको भनाइ छ ।
हावा तर्क प्रमुखप्रतिपक्षी
उता, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले हिउँदमा छोटो दिन भएकाले संसद शुरु हुन नसकेको मुख्यमन्त्रीको भनाइलाई हावा तर्कको संज्ञा दिएको छ । नेपाली काङ्ग्रेस संसदीय दलका नेता केदार कार्कीले मुख्यमन्त्रीको विज्ञ समूह हावादारी रहेको बताए ।
नाम र राजधानीको विषयमा प्रदेश सरकारसँग कुराकानी गरेको भन्ने मुख्यमन्त्रीको भनाइलाई खण्डन गर्दै उनले सरकारले आजसम्म यस विषयमा कुनै प्र्तिक्रिया नलिएको बताए । यस्ता हावादारी प्रतिक्रिया र तर्क गर्नमा प्रदेश सरकार लागिरहे सङ्घीयताप्रति जनताको विश्वास गुम्न सक्ने उनले बताए ।