तेह्रथुमः तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर २, खाम्लालुङमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माणका लागि एक व्यक्तिले १४ लाख रुपैयाँबराबरको ७ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।
सोही वडामा बस्ने अनिता पाहिम लिम्बूले स्व. श्रीमान् दिलबहादुर लिम्बूको स्मृतिमा १४ लाख रुपैयाँबराबरको ७ रोपनी जग्गा निःशुल्क प्रदान गरेकी हुन् । लिम्बूले वडा कार्यालयको भवन निर्माणका लागि ४लाख बराबरको २ रोपनी र स्वास्थ्यचौकीका लागि ५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको वडाध्यक्ष दिलकुमार पाहिमले बताए ।
भवन नहुँदा वडा कार्यालय कच्ची भवनका साँघुरा कोठाबाट सञ्चालन हुँदै आएको छ । यस्तै, स्वास्थ्यचौकीले पनि कच्ची भवनका साँघुरा कोठाबाट सेवा प्रवाह गर्दै आएको छ । लिम्बूले जग्गा उपलब्ध गराएपछि भवन निर्माणका लागि बाटो खुलेको वडाध्यक्ष पाहिमले बताए ।
भवन निर्माणका लागि बजेटको समेत माग गरिसकिएको र वडा कार्यालयसँगै स्वास्थ्यचौकीको समेत भवन निर्माण गर्न पहल भइरहेको वडाध्यक्ष पाहिम बताउँछन् ।