काठमाडौँः करिब रु एक अर्ब बराबरको कार्बन व्यापार गर्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आइरिक्स) लिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मुलुकभित्र निजी क्षेत्रको ऊर्जा उत्पादनको हिस्सा क्रमशः बढिरहेको सन्दर्भमा यो सम्झौतालाई महत्वका साथ हेरिएको छ ।

इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत कविनकुमार कंडासामीले यहाँ आयोजित एक कार्यक्रमका बीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको इप्पानले जनाएको छ । इप्पानले प्रोक्लाइमसँग गरेको सम्झौताले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको दुई हजार सात सय मेगावाट विद्युत्मध्ये पहिलो चरणमा दुई हजार मेगावाट विद्युत् कार्बन व्यापारका लागि योग्य हुनेछ । यस सम्झौतासँगै नेपालको निजी क्षेत्रले बर्सेनि करिब रु एक अर्ब बराबरको कार्बन व्यापार गर्न सक्ने इप्पानका अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत कंडासामीले भारत, भुटान र श्रीलङ्काले कार्बन व्यापारबाट फाइदा लिइरहेकाले नेपालले पनि अब यो अवसर सदुपयोग गर्न गइरहेको बताए ।

अन्तर्राष्ट्रिय हाइड्रोपावर एशोसिएसन (आइएचए) का उपाध्यक्ष सुशील पोखरेलले नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरू दिगो विकासका मापदण्ड पूरा गरेको उल्लेख गर्दै नेपाली आयोजनाले पनि अब छिट्टै कार्बन व्यापारबाट पैसा पाउने बताए ।