धरानः विश्वकर्मा कल्याण सेवा समिति धरानको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने ८ जना विद्यार्थीलाई १ हजार १ सयका दरले नगदसहित खादा ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी ७५ वर्ष माथिका ज्येष्ठ नागरिक कर्णबहादुर लकान्द्रीलाई पनि सम्मान गरिएको थियो ।
सोही अवसरमा धरान–१५ का मृगौला पीडित सुरज गजमेरलाई १३ हजार ८ सय ८० र धरान–१६ का मणिकुमार विश्वकर्मालाई स्वास्थ्य उपचार खर्च ७ हजार १ सय नगद हस्तान्तरण गरिएको थियो ।
विश्वकर्मा कल्याण सेवा समितिको नाममा स्थापना गरिएको अक्षयकोषमा १६ जना दाताबाट जम्मा भएको रकमबाट प्राप्त ब्याजले ५४ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठन सामग्री प्रदान गरिएको थियो । विद्यार्थीलाई दाता स्वयम्ले शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
साधारण सभाकै अवसरमा अमिना सुन्दास दलित छात्रवृत्ति कोषबाट गरिब तथा उत्कृष्ट अङ्क ल्याई विभिन्न कलेजमा अध्ययनरत ८ जना विद्यार्थीलाई १ हजारका दरले नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सांसद बराइलीले पुरस्कार प्रदान गरेकी थिइन् ।
समितिका अध्यक्ष भीमबहादुर (केदार) बराइलीको सभापतित्वमा भएको उक्त साधारण सभामा १ नम्बर प्रदेशकी सांसद उमिता बराइलीको प्रमुख आतिथ्यता रहेको थियो । समितिका उपाध्यक्ष खड्ग कोइरालाले स्वागत मन्तव्य राखेका थिए । महासचिव मानबहादुर कालिकोटेले कार्यक्रमको सञ्चालन गरेका थिए ।
साधारण सभामा महासचिव मानबहादुर कालिकोटेले साङ्गठानिक प्रतिवेदन र कोषाध्यक्ष हिरालाल बराइलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा विभिन्न सङ्घ संस्थाका प्रमुख एवम् प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।