काठमाडौंः सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको बताएका छन  । आइतबार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। 

उनले नेपालले आफैँले नगरेको अपराधको सजाय अहिले भोगिरहेको बताए । उनले विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रहरुले अध्याधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको बताए । हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको सङ्केत भएको उल्लेख गरे । 

उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतिहरुका सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । जीवनयापनको संकट भोगिरहेका समुदायलाई सहयोग पुर्‍याउने तथा वातावरणीय क्षति न्युन गर्नका लागि योजनावद्ध प्रयास गर्नु आवश्यक भएको बताए । 

नेपाल अहिले जलवायु परिवर्तन, भूस्खलन, बाढी, पहिरो, माटोको उर्वर शक्ति घट्दै जानु जस्ता समस्या भोगिरहेको घिमिरेले बताए  । यी चुनौतीहरुको समाधानका लागि हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै रैथाने बाली तथा वनस्पतिको संरक्षण एवं प्रवर्द्धन गर्न कोशी, मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाका खालि जमिनमा वृक्षारोपण कार्यक्रम भइरहेको उनले जनाए ।

जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतिहरुका सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य रहेको उनको भनाई छ  । जीवनयापनको सङ्कट भोगिरहेका समुदायलाई सहयोग पुर्‍याउने तथा वातावरणीय क्षति न्यून गर्नका लागि योजनावद्ध प्रयास गर्नु आवश्यक छ । जलवायु परिवर्तनको समाधानमा जनप्रतिनिधिहरुको भूमिका पनि अपेक्षित समेत रहेको उनले बताए । 

सभमुख घिमिरेले क्लाइमेट पाल्र्यामेण्ट जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमार्फत संघीय सांसदहरुले जलवायु नीति निर्माण, नविकरणीय उर्जाको प्रवर्द्धन र वातावरणीय सुधारका लागि आवश्यक पहल गरिरहेको बताए । नविकरणीय उर्जाको प्रवर्द्धन, वातावरणीय कानुन निर्माण तथा हरित बजेट परियोजनाका कार्यहरु संसदमार्फत अघि बढिरहेको बताए । वृक्षारोपण गर्दा भरसक फलफूलका बिरुवाहरु रोप्न प्राथमिकता दिन  समेत आग्रह गरे ।