इटहरी । सुनसरीको रामधुनी नगरपालिका ७ भुल्केस्थित कालाबन्जारबाट धरान जाने क्रममा अटो चालक र अटोमै रहेका अर्को एक व्यक्तिबाट भोजपुर साल्पा सिलिचौन गाउँपालिका ३ का ३४ वर्षीय दिलीप राई लुटिएका छन् । घटनाको हो फागुन २३ गते बिहानको । 

कालाबन्जारबाट धरान जाने क्रममा राईको साथबाट एक थान मोबाइल सेट र साथमा रहेको नगद ६० हजार रुपैयाँ लुटिएका हुन । यो घटना कालाबन्जार र धरान जोड्ने जङ्गल क्षेत्रमा भएको हो । लुटपाटमा संलग्न अटोको अल्फाबेट बाहेक ४०२२ नम्बर मात्र खुलेको छ  । अटो रातो रगंको भएको पीडितले प्रहरीलाई जानकारी दिएका छन् । 

अटो चालक र अर्को व्यक्तिले यात्रुलाई धारिलो हतियार देखाएर लुटपाट गरेको प्रहरी समक्ष बताएका छन् । जङ्गलको बिच भागमा पुराएर अटो भित्रै हतियार देखाएर नगद र मोबाइल लुटेपछि राईलाई त्यही जङ्गलमा छाडेर अटो फरार भएको थियो । अटो धरान तर्फ भागेको जनाइएको छ । 

अटोमा रहेका अन्य व्यक्ति चालककै साथी हुन सक्ने इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताएका छन् । लुटपाटपछि अटो र घटनामा संलग्नको खोजीमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।।