धरानः धरान उपमहानगरलाई सभ्य र विकसित नगरकै रूपमा लिने गरिन्छ तर यसै नगरको केन्द्र भागमा रहेको एउटा सरकारी (सामुदायिक) विद्यालय भने जीर्ण अवस्थामा पुगेको छ । ‘बत्तीमुनिको अँध्यारो’ भन्ने उखानलाई चरितार्थ गर्दै यो विद्यालय अनेक अभावसँग जुध्दै घस्रिरहेको छ ।

धरान– १६ स्थित पञ्चायत आधारभूत विद्यालयमा न बलियो पूर्वाधार छ न अन्य सुविधा । विद्यालयमा भएका १२ मध्ये कुनै पनि कोठा ठीक अवस्थामा नभएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले बताए । विद्यालयमा टिनका छाना छन् । ‘बर्खामा चुहुन्छ, बाल्टिन थाप्नुपर्छ’, प्रअ भट्टराईले भने, ‘चैत वैशाखमा छाना उडाएर बच्चालाई लाग्ला भन्ने डर हुन्छ ।’ उपमहानगरको केन्द्रमै सरकारी विद्यालयको अवस्था यति अभावग्रस्त होला भनेर कल्पना पनि गर्न सकिन्नँ । तर, धरानमा यो यथार्थ सजिलै देख्न सकिन्छ ।

कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयका अधिकांश विद्यार्थी सुकुम्बासी परिवारका छन् । गत वर्ष कक्षा ८ को नगरस्तरीय परीक्षामा यो विद्यालय नगरमै पहिलो भएको थियो । संस्थागत र सामुदायिक गरी धरानका ८३ विद्यालयमध्ये यसले शतप्रतिशत नतिजा ल्याएको प्रअ भट्टराईले जनाए ।

विद्यालयको भौतिक विकासका लागि आफूले लागत इस्टिमेटसहित सभासद्हरूलाइ निवेदन दिए पनि बजेट नपरेको उनको दुखेसो छ । ‘सभासद्ज्यूहरू त सकारात्मक हनुहुन्थ्यो’, उनले भने, ‘तर स्थानीय नेताहरूले बिगारे ।’ स्थानीय सरकारले समेत चासो नदिँदा भने भट्टराई दिक्क छन् । विपन्न परिवारका झन्डै ९० जना विद्यार्थीका लागि पोशाक, जुत्तालगायतका आवश्यकीय वस्तु मागेरै पूरा गर्ने गरेको उनले सुनाए ।

छिमेकी विद्यालयको यस्तै अवस्था देखेर सोमबार धरान–१६ को यु एन नवोदय कलेजले विद्यार्थीलाई स्वीटर बाँडेको छ । यु एन कलेज सञ्चालक समितिका अध्यक्ष ज्ञानेश्वर झा, प्रिन्सिपल डम्बर तुम्बापो तथा शिक्षकहरू गगन श्रेष्ठ र सुमन बास्कोटाले विद्यार्थीहरूलाई स्वीटर बाँडेका थिए । सो अवसरमा प्रिन्सिपल तुम्बापोले सामाजिक उत्तरदायित्व वहन गर्दै आफूहरूले स्वीटर बाँडेको बताए । उनले आगामी दिनमा अझै सहयोग गर्ने प्रतिबद्घता पनि जनाए ।

अध्यक्ष झाले उपमहानगरभित्र सरकारी विद्यालयको यस्तो अवस्था हुनु दुःखद् भएको बताउँदै यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

school  (1)

school  (3) विद्यार्थीहरू सुन्दर भविष्यको आधार भएकाले शिक्षामा राज्यको पर्याप्त लगानी हुनुपर्ने उनको भनाइ छ ।