गाईघाटः माघे सङ्क्रान्ति पर्व शुरुसँगै उदयपुरको कटारीस्थित कमला नदीको त्रिवेणी धाममा १५ दिने माघे सङ्क्रान्ति मेला शुरु भएको छ ।
परम्परागत रूपमा लामो समयदेखि प्रत्येक वर्ष माघ १ देखि १५ दिनसम्म कमलाको त्रिवेणी धाममा माघे सङ्क्रान्ति मेला सञ्चालन हुने गरेको आयोजक कटारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर खड्काले बताए ।
मेला शुरु भएको पहिलो दिनको बिहानको ३ बजेदेखि त्रिवेणी धाममा मकर नुहाउन तथा पूजाआरधना गर्न ठूलो सङ्ख्यामा भक्तजन आएका थिए ।
धाममा देशका विभिन्न भाग र विदेशबाट ठूलो सङ्ख्यामा भक्तजन आउने हुनाले बिहानैदेखि त्रिवेणीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षाको लागि परिचालन गरिएको थियो ।
त्रिवेणी महत्वपूर्ण धाम भएकाले काठमाडौँ, धनुषा, महोत्तरी, सुनसरी मोरङ, झापा, सप्तरी, सिरहा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप सिन्धुलीसहित विभिन्न भागबाट भक्तजन नुहाउन आउने कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ बताउँछन् ।
भारतको बिहार र पश्चिम बङ्गालको दार्जिलिङ, सिक्किम, कालिम्पोङ, अलगडा, पेदुङ क्षेत्रबाट पनि भक्तजन आउने सङ्घका अध्यक्ष खड्का बताउँछन् ।
कमला नदीमा उदयपुरकै ककरु र तावा खोला मिसिएर त्रिवेणी धाम बनेको छ । त्यहाँ प्रसिद्ध कमलेश्वर महादेवको मन्दिर तथा लक्ष्मी र गणेशसहित कमला माईको दर्शन तथा पूजा र आराधना हुने गरेको स्थानीयवासी गणेश धमलाले जानकारी दिए ।
मकर नुहाउनाले शरीरको चर्मरोग निको हुने र मनले चिताएको पूरा हुने हुनाले हिन्दू मात्र नभएर बुद्ध र इस्लामसहित अन्य धर्मावलम्बी त्रिवेणीमा नुहाउन आउने गरेको स्थानीय बताउँछन् ।