इलामः विगत ५ दिनदेखि इलाम सदरमुकामको लाकुरी चौतारामा २७ वर्षीय विद्यार्थी विजय थापा आमरण अनसनमा छन् ।
शिक्षा तथा स्वास्थ्य समितिले हालै बहुमतले पारित गरेको चिकित्सा शिक्षा विधेयक कसैको दबाब र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै उनी अनसन बसेका हुन् । आफ्नो माग पूरा नहुन्जेल अनसन जारी राख्ने अडानमा उनी छन् ।
यता, वरिष्ठ चिकित्सक डा. गोविन्द केसी शिक्षा विधेयक संशोधनको माग राख्दै सत्याग्रहमा छन् । थापाले शुक्रबारबाट सत्याग्रह शुरु गरेका छन् भने केसीले पुस २५ गतेबाट सत्याग्रह शुरु गरेका हुन् ।

परस्पर विरोधी माग राखेर इलाममा २ व्यक्तिले छुट्टाछुट्टै स्थानमा सत्याग्रह शुरु गरेसँगै दुवैको समर्थन र विरोधमा इलाममा ¥याली र कोणसभा भइरहेका छन् । केसीलाई ज्येष्ठ नागरिक समाज, महिलावादी संस्थालगायतको सर्मथन देखिन्छ भने थापाको समर्थनमा नेकपा निकट अनेरास्ववियुका विद्यार्थी नेता छन् ।

केसीले २२ बँुदे माग अगाडि सारिरहँदा थापा ९ बुँदे माग अघि सारेर अनसनमा छन् । थापाले नेपालमा एमडी तथा पीजी क्लासको कोटा कम्तीमा १ हजार ५ सय पु¥याउने व्यवस्था तत्काल गर्न माग गरेका छन् । काठमाडौं उपत्यकाबाहिर देशभर नै मेडिकल कलेज खोल्न वातावरण निर्माण गर्न प्लस टु सम्मको उच्च शिक्षा निःशुल्क अध्यापन गर्ने वातावरण व्यवस्था गरी शिक्षा र स्वास्थ्य अध्ययनका नाममा बर्सेनी ७० अर्ब रुपैयाँ विदेशिने भन्दै तत्काल रोक्न सरकारसमक्ष माग गरेका छन् ।
उनले सरकारी सेवा सुविधा लिएर राजनीतिक गर्ने सरकारी कर्मचारीलाई तत्काल सरकारी सेवाबाट बर्खास्त गरी कडा कारवाही गर्नुपर्ने लगायतका मागलाई अगाडि सारिरहेका छन् ।

डा. केसीलाई असफल बनाउन इलाममा अनसन बस्नुभएको भन्ने चर्चा छ नि भन्ने प्रश्नमा थापाले आफू डाक्टर केसीलाई असफल बनाउन नभई आम विद्यार्थी र नेपाली जनताको हितको लागि अनसन बसेको बताए ।
‘मैले ९ बुँदे माग अघि सारेर अनसन बस्दा कसैले डा. केसी विरोधी औल्याउँछ भने पनि केही फरक पर्नेवाला छैन । अन्तिम साससम्म पनि मेरो अडान कायम छ,’ उनले भने, ‘विधि र प्रक्रिया विरुद्धमा मैले सत्याग्रह शुरु गरेको हुँ । डा केसीविरुद्ध होइन । नागरिकता कागेश्वरी मनोहरा नगरपालिकाको भए पनि आफ्नो जन्मस्थल पनि इलामको गढी भएकाले आफ्नै जिल्लामा आएर सत्याग्रह शुरु गरेको हुँ ।’

गत बैशाख १३ गते चिकित्सा शिक्षा विधेयक खारेजको माग राख्दै पहिलो पटक ५३ दिन अनसन बसेको बताउँदै थापाले शिक्षा तथा स्वास्थ्य समितिले पास गरेको विधेयकमा आफूहरूको माग समेटिएकाले पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने बताए । ‘५३ दिन चिकित्सा विधेयक खारेजको माग राखेर अनसन बस्दा सरकारबाट विधेयकमा केही लचिलो हुने मौखिक सहमतिअनुसार हाम्रा केही मागहरु सम्बोधन भएका छन् । डा केसीसँग सम्झौता गर्दा बाझिएका विषय अहिले संशोधन भएका छन् । यो विधेयक लागू हुनुपर्छ । देशभर नै मेडिकल कलेज खुल्नुपर्छ,’ उनले भने ।

आफूलाई बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले अनसन बस्न पठाएको भन्ने हल्ला भ्रामक भएको बताए । ‘कुनै एक व्यक्तिको स्वार्थपूर्तिको लागि स्वास्थ्य जोखिम राखेर अनसन बसिँदैन । मेरो स्वास्थ्यमा समेत समस्या देखिएको छ । छातीमा समस्या छ स्वर भासिन थालेको छ । निमोनियाको सङ्क्रमण देखिने सम्भावना छ । त्यसैले म कसैबाट परिचालित छैन ।

थापाको स्वास्थ्य अवस्था बुझ्न अनसनस्थल पुगेका इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट ब्रृजेन्द्रकुमार शाहलाई उनले आफू अस्पताल नजाने बताए । उनले भने, ‘डा. केसी पनि अस्पतालमा हुनुहुन्छ । म पनि जाँदा स्वास्थ्य सेवा प्रवाहमा असहज हुन सक्छ ।’ अस्पतालमा गएर बस्दा डाक्टरले अरु बिरामीको स्वास्थ्य उपचारका लागि समय नपाउने भएकाले अचेत नभएसम्म अस्पतालमा नजाने उनले बताए ।

स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा अनसन बस्न नैतिक रूपमा नसुहाउने उनले बताए । थापा अनसन बसेको इलाम बजारको मुटु लाकुरी चौतारो आसपास सेना र सशस्त्र प्रहरीले कडा सुरक्षा निगरानी बढाएको छ ।

डा. केसीलाई आइसियुमा राख्न चिकित्सकको सुझाव
सत्याग्रहको साताँै दिन (मङ्गलबार) सम्म आइपुग्दा डा. केसीलाई आइसियुमा राख्नुपर्ने भएको छ । इलाम अस्पतालका चिकित्सकले जिल्ला अस्पतालमा आइसियु सुविधा नभएकाले डा. केसीलाई तत्काल अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
डा. केसीको स्वास्थ्य जाँच गरेका चिकित्सक डा ब्रिजेन्द्र कुमार साहले डा. केसीको मुटुको धड्कन घटबढ भइरहेको बताए । उनले भने, ‘प्राथमिक उपचारका लागि हामीले केही घण्टासम्मलाई औषधि व्यवस्था गरेका छौं तर उहाँको इच्छाविपरीत औषधि चलाउन मिल्ने अवस्था पनि छैन ।’

डा. केसीको घाँटी र दायाँ फोक्सोमा सङ्क्रमण हुनुका साथै रोगसँग लड्ने क्षमता दिनहुँ कम भइरहेको चिकित्सक साहले बताए । ‘रगतमा चिनीको मात्रा कम भएको छ,’ उनले भने, ‘मुटुको चाल जाँच गर्दा यस्तो बिरामीलाई तुरुन्त आइसियु र सिसियु केयर चाहिन्छ । इलाममा यो सुविधा छैन ।’ डा. केसीको आवाज नै बुझ्न छाडिएको छ । उनी आफँै उठेर बस्न सक्ने अवस्थमा नरहेको चिकित्सकहरूले बताएका छन् ।