भोजपुरः भोजपुरमा हालसम्म २ सय ७० घरको पुनर्निर्माण सम्पन्न भएको छ ।
भूकम्प गएको साढे ३ वर्ष बितिसक्दा पनि अहिलेसम्म २ सय ७० घरको मात्र पुनर्निर्माण सम्पन्न भएको हो । भूकम्पबाट पूर्ण क्षति भएका जिल्लाका ५ हजार १ सय ६७ घरमध्ये हालसम्म २ सय ७० जनाले तेस्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय भोजपुरले जनाएको छ ।
२ हजार ५ सय ३६ जनाले दोस्रो किस्ताबापत रकम बुझिसकेका छन् भने ५ हजार ७१ जनाले पहिलो किस्ताको रकम बुझेको सो कार्यालयका नायब सुब्बा हरिकृष्ण दाहालले बताए ।
पुनर्निर्माणअन्तर्गत पहिलो किस्ता लिएर पारिवारिक समस्याको कारण देखाउँदै एक जनाले भने रकम फिर्ता गरेको कार्यालयले जनाएको छ । जिल्लामा प्रबलीकरणको सङ्ख्या ४ सय ५३ रहेकामा हालसम्म १ सय ८४ जनाले सम्झौता गरी निकासा लिएको कार्यालयले जनाएको छ ।