फाइल तस्बिर
इलामः माघे सङ्क्रान्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान लिएर अघि बढेकाले सबैले साथ दिनुपर्ने बताएका छन् ।

इलामको देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाको सङ्गमस्थल राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपोभूमिमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले फाल्गुनन्दको तपोभूमिलाई पर्यटकीय, धार्मिक र सांस्कृतिक रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको जनाए । प्रदेश सरकारले आगामी वर्षदेखि बजेट छुट्याएर पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता उनले सो अवसरमा जनाए ।

गुरुयोजना निर्माण गरिनेः मन्त्री कार्की
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले राष्ट्रिय विभूति फाल्गुनन्द प्रदेशको गहना भएको बताए । माङ्सेबुङको विकासका लागि गुरुयोजना निर्माण गरेर प्राथमिकतामा राखिने उनले बताए ।

राष्ट्रिय विभूति फाल्गुनन्दको ज्ञान क्षेत्र खत्रप्पामा माघे सङ्क्रान्तिका अवसरमा मेला लाग्ने गर्दछ ।