इलामः चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै इलाममा अनसनमा बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचार गरिएको छ ।

विगत ७ दिनदेखि अनसनमा रहेका डा. केसीलाई रगत, मुटु, फोक्सो र पिसाबसम्बन्धी समस्या देखिने भएपछि थप उपचार गरिएको बताइएको छ ।

केसीको स्वास्थ्यमा धेरै किसिमका रोगको सङ्क्रमण देखिएकाले थप उपचार दिइएको इलाम अस्पतालका चिकित्सक डा वृजेशकुमार शाहले बताए ।

केसीको मुटुको चाल घटेर ३५ र बढेर २ सयसम्म पुगेको र शरीरमा अक्सिजनको मात्रा घटेको बताइएको छ । डा. शाहका अनुसार केसीलाई आइसियुमा राख्नुपर्ने भए पनि अस्पतालमा आइसियु नभएकाले उपचारमा समस्या देखिएको छ । उपचारका लागि डा. केसी अन्यत्र जान नमानेपछि इलाम अस्पतालमै आइसियुको सेवा दिने तयारीसमेत भइरहेको बताइएको छ ।