विराटनगरः विपन्न परिवारको भएका कारण उपचार गरेको पैसा तिर्न नसकेर सङ्कटमा परेका मोरङको रङ्गेलीका बादल सरकारको उपचारबापतको रकम नोबेल अस्पतालले मिनाहा गरेको छ ।

उपचारका क्रममा लागेको ५ लाख ४३ हजार रुपैयाँ अस्पतालले मिनाहा गरेको हो । गत कात्तिक १६ गते मोटरसाइकलको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका ४५ वर्षीय बादल हालसम्म नोबेल अस्पतालमा उपचाररत थिए । उपचारबापतको रकम तिर्न सक्ने उनको अवस्था थिएन ।

बिस्कुट बेचेर गुजारा चलाउँदै आएका उनले आर्थिक अभावका कारण उपचार वापतको पैसा तिर्न नसकेको थाहा पाएपछि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले रकम मिनाहा गरेका हुन् । नेपाली काङ्ग्रेस मोरङ जिल्ला सचिव मोदराज घिमिरेले पीडित परिवारको अवस्था बताएर रकम मिनाहा गराउन पहल गरेका थिए ।

उपचार खर्च मिनाहा भएपछि ठूलो राहत मिलेको बिरामीका बाबु बुनोधर सरकारले बताए । रकम मिनाहा भएपछि बादल अहिले अस्पतालबाट घर फर्किएका छन् ।

Free Upachar Photo 2