इटहरीः  नेपालमा मनसुनी वर्षाको रेकर्ड बढ्दै जाँदा विभिन्न प्रकारका प्राकृतिक विपत्तिको जोखिम बढेको छ । शुक्रबारदेखि देशभर मनसुन विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारसम्म लुम्बिनीमा अड्किएको मनसुन रातभरमा देशभर फैलिएको हो । 

त्यसैले अबका दिनमा वर्षाको दर बढ्ने भएकाले त्योसँगै विपत्तिको सम्भावना पनि बढेको छ । केही दिन कहिले रोकिँदै र फेरि पर्दै देशका अधिकांश स्थानमा वर्षा निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

नेपाल र छिमेकी देश चीनको सीमा क्षेत्रमा मनसुनले नियमित वर्षा गराइरहेकाले विपत्को जोखिम थप बढाएको छ । चीनको तिब्बत क्षेत्रमा वर्षा भइरहेको र त्यहाँबाट नेपाल आउने नदीमा बहाव उच्च हुने सम्भावना रहेकाले सतर्क रहन विभागले अनुरोध गरेको छ । छिमेकी चीनको तिब्बत क्षेत्रमा असार ३ गतेदेखि असार ७ गतेसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान गरिएकाले नेपालतर्फ पानीढलो रहेकाले भोटेकोशी र सुनकोशी नदीमा बाढी आउन सक्ने हुँदा ती नदी आसपासका गाउँबासीलाई सतर्क रहन भनिएको मौसमविद् डेबिड ढकालले बताए। 

तिब्बतस्थित प्रहरी कार्यालयले पठाएको सूचना अनुसार भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकासहित दुई नदी आसपासका क्षेत्रमा बाढीपहिरोको जोखिम रहेकाले त्यहाँका बासिन्दालाई सतर्क रहन भनिएको छ । महाशाखाका अनुसार विगत २४ घण्टामा देशका विभिन्न १२ स्थानमा दुई सय मिलिमिटरसम्मको वर्षा रेकर्ड भएको छ । पहाडी भूभागमा ५० मिलिमिटरमाथिको लगातार वर्षाले पनि बाढी र पहिरोको जोखिम निम्त्याउने भएकाले सतर्क रहनुपर्ने महाशाखाले जनाएको छ । 

यसैबिच बिहीबार रातिदेखि जारी वर्षाका कारण राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानका नदीमा शुक्रबार बाढी आएको छ ।

राजधानी काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रका सडक जलमग्न बनेका छन् । बागमती, धोबीखोला र मनहरा खोलामा बाढी आएको छ । धोबीखोलाको बाढीले नदी आसपासका कोरिडोर डुबानमा पर्दा आवागमनमा अवरोध सिर्जना भएको सुरक्षा निकायले जनाएका छन् ।

त्यसै गरी चितवन, नवलपरासी, मकवानपुर, कास्कीलगायतका जिल्लाका ठुलासाना नदीमा पनि बहाव बढ्दा डाइभर्सन सडक अवरुद्ध हुन पुगेका छन् । बाढीपहिरोले देशका विभिन्न स्थानका प्रमुख तथा सहायक मार्ग अवरुद्ध हुन पुगेका थिए । जसका कारण सार्वजनिक तथा निजी आवागमन प्रभावित हुन पुगेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।