इटहरीः यही माघ २४  गतेदेखि फागुन ३ गतेसम्म इटहरी फुड फेस्टिबल हुन लागेको छ । होटल व्यवसायी सङ्घ इटहरीको मुख्य आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रबद्र्धन रहेको यो महोत्सव होटल व्यवसायी सङ्घले गरेको पहिलो मेगा इभेन्ट हो । यस अगाडि फाट्टफुट्ट कार्यक्रम भएकोमा यस पटक भने ७० बढी स्टलसहित प्रदेशस्तरीय खाद्य महोत्सव हुने भएको छ ।

महोत्सवमा इटहरीको सिटी टुर गर्नलाई २४,२५ र २६ गते हेलिकप्टर टुर गराइने र २७ र २८ गते पाथीभरा टुर गराइने आयोजकको भनाइ छ । ४ हजार ९ सय ९९ रुपैयाँमा सिटी टुर र पाथीभरा टुर २९ हजार ९ सय ९९ रुपैयाँमा गराइने भएको छ । सिटी टुर इटहरीबाट हुने तर पाथीभरा टुर भने भेडेटारबाट हुने व्यवसायीको भनाइ छ । 

 महोत्सवमा आउने बाल उद्यानका सहभागीको बिमा, कार्यक्रम वरिपरि सिसी क्यामेराको व्यवस्था, फ्रि वाइफाइ जोन, विश्वस्तरीय स्टल सेट अप र मदिरा निषेध हुने आयोजकको भनाइ छ ।

यस्तो महत्वपूर्ण महोत्सवको लागि अहिले आयोजक संस्थाका सदस्य खटिरहेका छन् । १ महिना अगाडि बाटै खटिरहेका आयोजकका सदस्यसँग विराट अनुपमले कुराकानी गरेका छन् । महोत्सवको बारेमा आयोजकको यस्तो भनाइ छः

महोत्सव प्रदेश १ का १४ जिल्ला तथा विहार र बङ्गाललाई लक्ष्य गरेर आयोजना गरिएको हो

जीवन पराजुली, अध्यक्ष, होटल व्यवसायी सङ्घ, इटहरी

इटहरीमा यो खाले पहिलो महोत्सव हो । पर्यटकलाई आकर्षित गर्न उत्कृष्ट प्याकेजको माग छ । पुराना तरिका भन्दा केही नयाँ गरौँ भन्ने हाम्रो टिमको एकमत छ । यसको लागि यहाँका व्यक्ति र सङ्घसंस्थाको योगदान हुन्छ । यस अगाडि उद्योग वाणिज्य महासङ्घले महोत्सव गरेको थियो । सिटी हेलिटुर र पाथीभराको धार्मिक यात्रा हेलिकोप्टरमै हुनेछ । प्रदेश १ का पर्यटकीय चिनारी महोत्सवमा प्रस्तुत हुनेछन् ।

कोशी टप्पुका अर्नाका २ प्रतिमा र टीएमजेका गुराँसको प्रतिमा बनाएर सेल्फी प्वाइन्ट बनाउने छौँ । हेर्दा सामान्य लागे पनि यस्ता कुराले प्रदेश १ को पर्यटन प्याकेजको जानकारी दिनेछन् । यो फरक किसिमको मेला हो । यहाँ जातीय परिकार, स्थानीय परिकार र विदेशी परिकारका खुराक हुनेछन् । भट्टी पसलमा गएजस्तो हुने छैन । सेटअप नै फरक हुनेछ । मदिरा निषेध हुनेछ ।

पारिवारिक वातावरणमा घुम्ने र खाने कुराको प्याकेज दिनेछौँ । यो महोत्सव प्रदेश १ लाइ मात्रै होइन विहार बङ्गालका आगन्तुकहरुलाइ पनि हामी ल्याउने छौँ ।

खाना, कोठा र रक्सी मात्रै बेच्दैनन् होटल व्यवसायी भन्ने नजिरको लागि महोत्सव

गोविन्द थापा, वरिष्ठ उपाध्यक्ष, होटल व्यवसायी सङ्घ इटहरी

हामीले खाना, कोठा र रक्सी त बेचेकै हो । तर यत्ति गर्ने मात्रै हाम्रो पहिचान होइन । हामीले टिममा कुरा ग¥यौं । इटहरी पूर्वकै पर्यटकीय हब भएको कारणले गर्दा महोत्सवको रूपमा भए पनि केही मनोरञ्जन, खानपान र घुमघामको काम होस् भनेर पनि हामीले महोत्सव गर्न लागेका हौँ ।  सबै खाले खाना, उत्कृष्ट सत्कार र साँझमा साङ्गीतिक माहोल सहितको महोत्सव हुनेछ ।

 

सरकारको कार्यक्रम ‘समृद्ध नेपाल र सुखी नेपाली’लाई सघाउ पु¥याउने महोत्सब

उमानाथ दाहाल (उमेश), महासचिव, होटल व्यवसायी सङ्घ

समृद्ध नेपाल, सुखी नेपाली नारालाई सघाउ पु¥याउन यो महोत्सव आयोजना गरेका हौँ । होटल व्यवसायी सङ्घले इटहरीमा रहेर प्रदेश १ का १४ जिल्लाकै महत्व झल्काउने गरी महोत्सव हुनेछ । इलामदेखि सोलु अनि धनकुटादेखि सुनसरीसम्मका खानपान र पर्यटकीय गन्तव्यको हामीले प्रचार तथा प्रवद्र्धन गर्ने छौँ । होटल व्यवसायी सङ्घले काठमाडौं, चितवन र पोखरामा मात्रै नेपाली पर्यटकीय सर्किट भएको कुरामा प्रदेश १ मा पनि यस्ता थुप्रै कुरा छन् भन्ने देखाउन पनि महोत्सव गर्न लागेका हौँ । महोत्सवमा सारेगामामा भाग लिएकादेखि नेपाली चर्चित कलाकार पनि आउनेछन् । हराउँदै गएका खानपान, ढिँडोका परिकार, सिस्नोका परिकार, थारु खानाको प्रवद्र्धन गरिनेछ । इटहरीमा कति होटल, पार्टी प्यालेस अनि रेष्टुरेन्ट छन् भन्ने बारेको सूचना दिनेछौँ । बाल उद्यानमा आउनेको बीमाको व्यवस्था गरिएको छ । दैनिक १५ जनालाई टिकटका माध्यमबाट विजेता बनाइनेछ । वाइफाइ जोन हुनेछ ।

 

सोलुको फागीदेखि इलाममको ग्रीन टीसम्म पाइने महोत्सव

दीपक पोख्रेल, कार्यक्रम संयोजक तथा सदस्य, होटल व्यवसायी सङ्घ, इटहरी

गत वर्ष पनि हामीले वाइएसडी नामक संस्थाबाट यस्तै खाद्य महोत्सब गरेका थियौँ । यो पटक भने यस्तो इभेन्ट गर्नैपर्ने संस्थाबाट यस्तो महोत्सव हुन लागेको  छ । महोत्सवमा इलामको ग्रीन टीदेखि सोलुको स्थानीय परिकार फागीसम्म गरेर पाइन्छ । प्रदेशका सबै जिल्लाका स्थानीय परिकार समेटिनेछ ।

पूर्वी तराईका थारु, राजवंशी समुदायका खानाको प्रवद्र्धन र प्रचार गरिनेछ । खानाको बारेमा पोषणविदबाट विस्तृत सूचना दिइनेछ । थारुको घुँघी, भक्का, माछाको परिकारदेखि गुन्दु्रकसम्मको व्याख्यासहितको जानकारी समेत हुनेछ ।  यहाँ खाना पकाउने प्रतिष्पर्धा पनि हुनेछ । फेसन सो देखाउने कुरा पनि छ । धेरै खुराक छन यहाँ ।

 इटहरीलाई प्रदेश १ को पर्यटनमा नेतृत्व गराउने साझा महोत्सव

सुनिल भुषाल, महोत्सबका मिडिया संयोजक तथा सदस्य, होटल व्यवशायी संघ

यो मेलामा ७० वटा भन्दा बढी स्टल हुनेछन् । स्थानीय, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय खानाको प्रवद्र्धन र व्यापार हुनेछ । कार्यक्रमलाई स्तरीय बनाउन इभेन्ट संसार डटकमका विज्ञहरूलाई पनि  बोलाएका छौँ । इभेन्ट संसारका पशुपति जी पनि आउनुभएको छ । सन् २०२० को लागि नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्षको लागि पनि यो महोत्सब महत्वपूर्ण हुनेछ । प्रदेश १ को पर्यटनमा नेतृत्व गर्न यो महोत्सव गर्न लागिएको हो । अन्य महोत्सवभन्दा धेरै आकर्षक र सुन्दर हुनेछ ।

यो विद्यार्थीको महोत्सव हो । उनीहरू खानाका परिकार बनाउने प्रतिष्पर्धामा भाग लिन सक्छन् । अभिभावकको महोत्सव हो किनभने सपरिवार आएर मदिरारहित महोत्सब हुँदैछ । कलाकारको लागि प्रस्तुति दिने थलो हुनेछ । व्यापार र पर्यटकीय चहलपहल बढाउने महोत्सव भएकाले व्यापारी तथा पर्यटनकर्मीहरूको पनि महोत्सव हो । त्यसैले यो महोत्सव भनेको प्रदेश १ को पर्यटन क्षेत्रको नेतृत्व इटहरीलाई दिलाउने सबैको साझा महोत्सव हो ।