इटहरीः इटहरीमा रहेर साङ्गीतिक क्षेत्रमा विगत १५ वर्ष अघिबाट सङ्घर्ष गरिरहेकी गायिका अन्जु गौतम दुबईमा हुने ग्लोबल मोसन पिक्चर अवार्डमा उत्कृष्ट १० भित्र पर्न सफल भएकी छिन् ।

लोक, आधुनिकका साथै केही चलचित्रमा आफ्नो स्वर दिइसकेकी उनी सो अवार्डको लागि दुबईमा हुने कार्यक्रममा भाग लिन बिहीबार त्यसतर्फ जाँदैछिन् ।

उनको स्वर रहेको ‘फूलको थुङ्गा टिपी माला उनेँ तिमीलाई...’ नै बोलको गीत सो अवार्डका लागि उत्कृष्ट १० मा परेको हो । उनले मङ्गलबार मात्रै अमेरिका बस्दै आएका इटहरीकै पुराना सङ्गीतकर्मी दिनेश कार्कीसँग ‘झुम्के मायालु....’ बोलको लोकगीत रेकर्ड गराएकी छिन् । काठमाडौंको स्टुडियोमा रेकर्ड गरिएको यो गीत फरक शैली र भाकाको भएकाले आफू निकै आशावादी भएको गौतमले बताइन् ।

दुबइमा हुने ग्लोबल मोसन पिक्चर अवार्डलाई नै मध्यनजर गरी बुधबार पनि गौतमले चर्चित लोक गायक बलराम समालको साथमा अर्को लोकगीत रेकर्ड गराउँदैछिन् । ‘सरर हावा चल्यो मालीबाँसैमा...’ बोलको सो गीत पूर्वेली भाकामा रहेको उनले बताइन् ।
ग्लोबल मोसन पिक्चर अवार्डमा गौतमसँगै सहभागी हुन नायक धीरेन शाक्य, गायिका अन्जु पन्त, मेलिना राई तथा कलाकार रवीन्द्र खड्का र मीना निरौलालगायतको टोली दुबइ जाने भएको छ ।

anjuu