झापाः २१ औँँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा झापाको चन्द्रगढीमा प्रभातफेरि निकालिएको छ ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस समारोह समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट प्रभातफेरि निकालिएको हो । सो प्रभातफेरि जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।
कार्यालयका प्रमुख, कर्मचारी, भद्रपुर नगरपालिका उपप्रमुखलगायत प्रभातफेरिमा सहभागी थिए । ‘घटाऔँ भूकम्पको खतरा जागरुक भई, आउला भूकम्प भत्काउला घर, जिउधन जोगाउने हाम्रो कर, सस्तो सुलभ वैज्ञानिक प्रविधिको विकास गरौँ’ लगायतका नारा लेखिएको प्लेकार्ड प्रभातफेरिमा सहभागीले बोकेका थिए ।
प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले नेपालमा वि.सं १९९० देखि २०७२ सालसम्ममा भूकम्पबाट भएको धनजनको क्षतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी सघन शहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख इञ्जिनियर विदुर खड्काले कमजोर भवन बनाउँदा पुग्ने क्षति र एक वा डेढ तलाको भवनको नक्सापास गरेर ७ तलाको भवन बनाउँदा हुने क्षतिको बारेमा जानकारी गराएका थिए ।
उनले भूकम्पबाट क्षति न्यूनीकरण गर्न अनिवार्य रूपमा सरकारले तोकेको मापदण्डअनुसारका भवन बनाउनसमेत आग्रह गरेका थिए ।