इलामः इलाममा अनसनरत डा. गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका बी एण्ड सी अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएका छन् ।
प्रसाईंले धम्की दिएको विषयप्रति नेपाल पत्रकार महासङ्घ इलाम शाखा र प्रेस युनियनले आपत्ति जनाएका छन् । बी एण्ड सी अस्पतालका तर्फबाट डा. केसीलाई भेट्न आएका चैतन्य मैनालीका बारेमा पत्रकारले टेलिफोनमार्फत् सञ्चालक प्रसाईंसँग बुझ्न खोज्दा उनले अपशब्द बोल्दै धम्क्याएका हुन् ।
प्रसार्इंले कान्तिपुर संवाददाता विप्लव भट्टराईलगायतका पत्रकारलाई टेलिफोनमा गाली गर्दै धम्क्याएको प्रति महासङ्घ र युनियनले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएका हुन् ।
इलाममा अनसनरत डा. गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका प्रसाईंले भट्टराई लगायतका पत्रकारलाई धम्क्याएको घटनाले सिङ्गो पत्रकारिता जगतकै अपमान भएको पत्रकार महासङ्घ इलाम शाखाले जनाएको छ ।
महासङ्घ अध्यक्ष कोकिला ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचारमा चित्त नबुझे कानुनी उपाय खोज्ने बाटो हुँदाहुँदै पत्रकारलाई धम्क्याउने प्रसाईंलाई कानुनी कारवाही गर्न माग गरिएको छ ।
सोही विषयलाई लिएर नेपाल प्रेस युनियन इलाम शाखाले पनि आपत्ति प्रकट गरेको छ । सचिव टीका खतिवडाद्वारा जारी विज्ञप्तिमा प्रसाईंको अभिव्यक्तिले प्रेसमाथि धावा बोलेको र हर्कत प्रदर्शन गरेको भन्दै युनियनले प्रसाईंमाथि कारवाहीको माग गरेको हो ।