खोटाङः खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीमा मगर समुदायको आस्थाको प्रतीक खुर्पेटो ९घोरप्याक० को प्रतिमा स्थापना गरिएको छ । स्थानीय वडा सरकारको बजेटबाट निर्मित उक्त प्रतिमा नेपालमा सरकारी लगानीमा बनाइएको पहिलो खुर्पेटो प्रतिमाको रहेको दाबी गरिएको छ ।
नेपाल मगर संघका अनुसार यसअघि व्यक्तिगत हिसाबले रिसोर्टहरूमा प्रतिमा स्थापना गरिएको भएपनि सरकारको लगानीमा मगर समुदायलाई सम्बोधन गरेर बनाइएको पहिलो खुर्पेटो प्रतिमा खोटाङमै भएको जनाइएको छ । यसअघि नेपाल मगर संघका अध्यक्ष नविन रोक्का मगरको कार्यकालमा सार्वजनिक रूपमा खुर्पेटो प्रतिमाहरू बनाउने निर्णय भएको भएपनि कार्यान्वयनमा आएको थिएन ।
नेपाल मगर संघका उपाध्यक्ष जीवन रोक्का मगरले सरकारी बजेटबाट सार्वजनिक स्थलमा पहिलो पटक खुर्पेटो स्थापना भएको दाबी गरे । उनले भने, “मलाई यसअघि सम्म सरकारको लगानीमा सार्वजनिक स्थलमा रहनेगरी खुर्पेटोको प्रतिमा स्थापना भएको जानकारी छैन । खोटाङमा आज उद्घाटन भएको प्रतिमा नै पहिलो हो ।” खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राईले शनिबार उद्घाटन गर्नुभएको उक्त प्रतिमा वडा कार्यालयको पाँच लाख रुपैयाँको लगानीमा निर्माण गरिएको हो ।
इन्द्रेणीपोखरीको बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको खुर्पेटो प्रतिमाले जातीय सांस्कृतिक समभाव र सहिष्णुताको विकास गर्न मद्दत पुर्याएको अध्यक्ष राईले बताए । उक्त प्रतिमा स्थापनाले मगर समुदायको पहिचान र सांस्कृतिक मूल्यमान्यताहरूलाई संरक्षण गर्नुका साथै अन्य जातजातिहरूसँगको सामाजिक एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।
खुर्पेटो मगर समुदायको धार्मिक र सांस्कृतिक प्रतीक भएकाले समुदायिक गर्व र पहिचानलाई बलियो बनाउने विश्वास गरिएको छ । इन्द्रेणी पोखरीको बहुसांस्कृतिक पार्कमा स्थापित उक्त प्रतिमाले स्थानीय पर्यटनको विकासमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ । यो खबर राजधानी दैनिकबाट लिइएको हो ।