खोटाङः धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसीमा सिसी क्यामरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामरा जडान गरिएको हो ।

पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मन्दिर तथा आसपासमा सिसी क्यामरा जडान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए ।

राईका अनुसार हलेसीमा नगरपालिकाको लगानीमा सिसी क्यामरा जडान गरिएको हो । नगरपालिकाको करीब ७ लाख लगानीमा विभिन्न ११ ठाउँमा सिसी क्यामरा जडान गरिएको जनाइएको छ । सिसी क्यामरा जडान गरेपछि नगरपालिकाको तर्फबाट सूचना केन्द्र स्थापना गरेर हलेसीमा हुने हरेक गतिविधिको निगरानी गर्न थालिएको नगरप्रमुख राईले बताए ।

महादेवगुफा, पार्वतीथान, बसाह गुफा, प्रवेशद्वार तथा आसपासका क्षेत्रमा सिसी क्यामरा जडान गरेपछि दर्शनार्थी तथा पर्यटकलाई सहज भएको छ । हलेसी क्षेत्रका मुख्यमुख्य ठाउँमा ‘तपाइँ सिसी क्यामराको निगरानीमा हुनुहुन्छ’ भन्ने जानकारी लेखिएको बोर्डसमेत राखिएको छ ।

सिसी क्यामरा जडानपछि जथाभावी फोहोर फाल्ने, अभद्र व्यवहार गर्ने, भीडभाड गर्ने जस्ता क्रियाकलाप न्यूनीकरण हुँदै गएको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसअघि जथाभावी फोहोर र अव्यवस्थित देखिने हलेसीको बजार क्षेत्र अहिले सफा, सुन्दर र व्यवस्थित बन्दै गएको छ ।

उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोशी तथा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशीमा पक्की पुल सञ्चालनमा आएपछि हलेसी आउने दर्शनार्थीको सङ्ख्या दोब्बर बढेकोे स्थानीयवासी बताउँछन् । हलेसीसम्मको सिधा यातायात जोडिएपछि काठमाडौँ, धरान, विराटनगर, जनकपुरधाम, पोखरालगायतका दर्शनार्थीहरू सिधै गाडी रिजर्भ गरेर आउने गरेका छन् ।

धार्मिक तथा सांस्कृतिक रूपले प्रसिद्ध हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसी क्षेत्रमा रहेको महादेव गुफा, पार्वतीथान, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरवगुफा, दुङ्देलो गुफालगायतका धार्मिक तथा पर्यटकीय स्थल राम्ररी अवलोकन गर्न सकिन्छ ।

दैनिकजसो दर्शनार्थी तथा पर्यटकको बाक्लो घुइँचो लाग्ने हलेसीमा रामनवमीको अवसरमा १५ दिन, शिवरात्रिमा ५ दिन, बालाचतुर्दशी तथा हरितालीका तीजमा ३÷३ दिन ठूलो मेला लाग्ने गरेको छ । साउन महिनाको सोमबार पनि दर्शनार्थीको उल्लेख्य भीड हुने गरेको छ ।