इटहरी/ इटहरीमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले मेगा प्रोजेक्ट नचलाएको गुनासो आइरहेको बेला निजी क्षेत्रबाट दुग्ध क्षेत्रमा मेगा प्रोजेक्ट धमाधम बन्दैछ । इटहरी– २० तरहरामा रहेको कामधेनु दुग्ध सहकारी संस्थाले ४२ कट्ठा क्षेत्रफलमा दूध प्रशोधन केन्द्र निर्माण गरिरहेको छ ।

इटहरी–१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको नयाँ भवन नजिकै बन्दै गरेको यो मेगा प्रोजेक्टले २५ हजार लिटर दूध प्रशोधन गर्नेछ । कामधेनु सहकारीका कार्यसमिति सदस्य लोचन पौडेलका अनुसार यो परियोजनाको अनुमानित लागत २० करोडभन्दा बढी रहेको छ ।

पौडेलका अनुसार हाल इटहरी–२० मा रहेको कामधेनुको दुग्ध प्रशोधन केन्द्रले औसतमा ५ देखि ७ हजार लिटर मात्रै दूध प्रशोधन गरेकाले बजार धान्न समस्या भएको छ । ‘हामीले अहिले पनि माग अनुसार दुग्ध प्रशोधन गर्न सकेका छैनौँ र ठाउँ पनि साँघुरो छ’, निर्माणाधीन दुग्ध प्रशोधन केन्द्र परिसरमा बोल्दै पौडेलले भने, ‘यो प्रशोधन केन्द्र अन्तर्राष्ट्रिय स्तरको हुनेछ, ठूलो क्षेत्रमा हुनेछ र यहाँबाट उत्पादित दुग्ध उत्पादनले प्रदेश १ को माग धान्न सहयोग गर्नेछ ।’

प्रशोधन केन्द्रमा आइसक्रिमदेखि रसबरीसम्म बन्ने
अहिले दैनिक ५ हजार लिटर दूध प्रशोधन गर्ने कामधेनु सहकारीको प्रशोधन केन्द्रमा प्याकेज्ड दूध, दही, मोही, चीज, घिउ, पनिर र खुवा बन्दै आएको छ । तर, २५ हजार लिटर दूध प्रशोधन गर्न थालेपछि भने उत्पादनमा विविधिकरण गर्ने सहकारीका पदाधिकारी बताउँछन् ।

नयाँ प्रशोधन केन्द्रले आइसक्रिम, लस्सी र रसबरी बनाएर प्रदेश १ का धरान, इटहरी र विराटनगर जस्ता मेगा सिटीको माग स्वदेशबाटै पूर्ति गर्ने सहकारी संस्थाको लक्ष्य रहेको छ ।

धनकुटाको जोरपाटीमा दुग्ध चिस्यान केन्द्र र चीज कारखाना भएको कामधेनु सहकारीले हालको ५ हजार लिटर क्षमताको दुग्ध प्रशोधन मेसिन धनकुटा लाने तयारी गर्दैछ । इटहरीको प्रशोधन मेसिनले पूर्वी तराईको माग धान्ने र धनकुटाको मेसिनले कोशी पहाडका धनकुटा, हिले, वसन्तपुर, म्याङ्लुङ, भोजपु, खाँदबारीलगायतका क्षेत्रको माग धान्ने अनुमान रहेको सञ्चालक समितिका लोचन पौडेल बताउँछन् । उनी भन्छन्, ‘मान्छेमा दुग्ध उत्पादनको मागसँगै हामीले नयाँ प्रविधिले उत्पादन वृद्धि र नयाँ प्रशोधन केन्द्र खोल्ने योजना अनुसार यो सबै भइरहेको छ ।’

डिडिसिको विकल्प र मिल्क होलिडे अन्त्यको तयारी
कामधेनु सहकारीमा ४ सय किसान सेयर सदस्य छन् । ५८ वटा कृषि सहकारी पनि योसँग जोडिएका छन् । तर पनि, हाल हप्तामा २ दिन मिल्क होलिडे (दूध नलिन) गर्न सहकारी बाध्य छ ।

केही महिनाबाटै सञ्चालन हुने नयाँ प्रशोधन मेसिनको जडान सकिएपछि भने यी सबै समस्या हल हुने सहकारीका व्यवस्थापक कृष्ण घिमिरे बताउँछन् । घिमिरेका अनुसार २५ हजार लिटर दूध प्रशोधन गरे पनि क्षमता बिस्तार गर्दै ५० हजार लिटर पु¥याउने र मिल्क होलिडे अन्त्य गर्दै विविध परिकार बनाउन सहकारी लागि परेको छ ।

मिल्क होलिडे मात्रै होइन पूर्वमा सरकारी दुग्ध संस्थान डिडिसिको प्रतिस्पर्धी बन्ने पनि सहकारीको लक्ष्य रहेको छ । २०५७ सालमा स्थापना भएको कामधेनु दुग्ध सहकारीमा ७० जना कर्मचारी छन् । प्रशोधन विभागमा मात्रै २२ जना कर्मचारी छन् भने सवारी साधन १२ वटा छन् । सहकारीका यी प्राविधिक क्षमतामा थप विकास गरेर प्रदेश १ का किसानको दूध मिल्के होलिडेबिना उपभोक्ताकोमा पु¥याउँदै डिडिसिसँग प्रतिस्पर्धा गर्ने सहकारीको लक्ष्य पूरा हुने बताउँछन् कार्यसमिति सदस्य पौडेल ।

‘स्थापनाको १८ वर्षमा हामी यो अवस्थामा छौँ अब केही वर्षमा नयाँ उचाइमा पुग्छौँ’, पौडेलले भने, ‘प्रशोधनमा नयाँ प्रविधिको प्रयोग र दुग्ध उत्पादनमा व्यवसायिकता बढेकाले यो लक्ष्य भेट्न धेरै गाह्रो छैन ।’

milk industry (1) milk industry (4) milk industry (6) milk industry (2) milk industry (5)