धनकुटाः प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउन माग गर्दै धनकुटामा पुनः दबाबमूलक आन्दोलन हुने भएको छ ।
प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाऔं अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतामा भएको भेलाले यस्तो निर्णय गरेको हो । राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यापारी सम्मिलित बुधबार बसेको भेलाले धनकुटालाई प्रदेश नम्बर १ को स्थायी राजधानी बनाउन माग गरेको हो ।

दबाब कार्यक्रमअन्तर्गत बिहीबार दिउँसो १ बजे ¥याली निकाली बजार परिक्रमा गर्ने निर्णय भएको बताइएको छ । सो ¥यालीमा सङ्घीय सांसद, प्रदेश सांसद, नागरिक समाज, बजारवासी सम्पूर्ण पेशाकर्मी, धनकुटावासी लगायत सबैलाई सहभागी हुनका लागि आह्वान गरिएको अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । भेलामा बोल्दै नेकपाका नेता दुर्गा लिङ्खाले धनकुटा लाई राजधानी बनाउन सबै लाग्नुपर्ने बताए ।

त्यस्तै, अभियन्ता एवम् नेपाली काङ्ग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले धनकुटालाई राजधानी नबनाएसम्म आन्दोलन जारी रहने बताए । केही दिन पहिले धनकुटा आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामकरण छिट्टै टुङ्गो लगाउने बताएका थिए । त्यसैले पनि अबको आन्दोलन लाई निर्णायक बनाउनुपर्ने स्थानीयको बुझाइ छ ।
बिहीबारको कार्यक्रमपछि बस्ने बैठकले आन्दोलनलाई कसरी अघि बढाउने भन्ने निर्णय गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।