विराटनगरः मोरङको कटहरी गाउँपालिकामा सञ्चालित एक इँट्टाभट्टाबाट श्रम गरिरहेका ६ जना बालकको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र सिबिन नेपाल विराटनगरको संयुक्त टोलीले उनीहरूलाई उद्धार गरेको हो । कटहरी गाउँपालिका–५ स्थित कृष्ण प्रणाम इँट्टाभट्टामा श्रम गर्ने १६ वर्षमुनिका ६ जना बालकको उद्धार गरिएको हो ।

उद्धार गरिएका सबै बालकलाई विराटनगर–१३ स्थित पूर्वाञ्चल अनाथ आश्रममा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसरी उद्धार गरिएकामा भारतीय नागरिक १६ वर्षीय रुवेल मिया र कासनकुमार विश्वास, १४ वर्षीय राजकुमार विश्वास र काउछर आलम रहेका छन् ।

त्यस्तै भारतकै ११ वर्षीय रुवेल मिया र मोरङ भौडाहाका १३ वर्षीय मोहन सरदार रहेको प्रहरीले जनाएको छ ।